पर्वत, १२ साउन
पर्वतको कुश्मा नगरपालिकाले नगर भित्र रहेका विपद्का घटनाबाट पिडित परिवारलाई राहत दिने भएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले राहत प्रदान गर्ने निर्णय गरेको हो ।
विशेष गरी मनसुनजन्य विपद्बाट पिडित भएका कुश्मा नगरपालिका भित्रका ३२ परिवारलाई पहिलो चरणमा राहत दिलाउने निर्णय भएको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । जोशीका अनुसार एक लाख सम्म क्षति भएका व्यक्तिहरुलाई प्रतिशतका आधारमा राहत उपलब्ध गराउने र १ लाख भन्दा माथि क्षति भएका परिवारलाई कार्यपालिकाको निर्णयका आधारमा राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।
हाल सम्म कुश्मा नगरपालिकाको विपद् शाखामा झण्डै १ सय भन्दा बढी परिवारहरुले घर गोठ सँगै बाली नाली समेत क्षति भएको भन्दै राहतको माग गरेका छन् । जस अनुसार प्राविधिक मुल्याङ्कनका क्रममा ५ हजार देखि १५ लाख सम्मको क्षति भएको तथ्याङ्क नगरपालिका समक्ष रहेको छ । यसरी क्षति विवरण हेर्दा क्षति पुर्ति अनुरुप नै रकम प्रदान गर्न नसकेपनि सामान्य राहात स्वरुप रकम उपलब्ध गराइएको र दोश्रो चरणका निवेदनहरुमाथि छलफल गर्ने र क्षति विवरणको मुल्याङ्कन गर्ने क्रम चलिरहेको नगरपालिकाका प्रशासन शाखा अधिकृत धु्रब शर्माले बताउनुभयो ।
मंगलबारको निर्णय अनुसार ३ लाख ४० हजार राहतका लागि कुश्मा नगरपालिकाबाट पहिलो चरणमा विनियोजन हुने भएको छ । जेष्ठ देखि असार सम्मको अन्तरालमा अत्याधिक बर्षा भएपछि मनसुनजन्य विपद्बाट क्षति हुने क्रम बढेको छ । सोही अनुरुप भोलिका दिनमा पनि पिडितहरु थपिन सक्ने कुरालाई मध्यनजर गर्दै राहत व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।







