पर्वत, २५ साउन
कोभिड १९ को संक्रमण देखिएपछि पर्वत अस्पतालमा उपचाररत एक संक्रमितलाई स्वासप्रश्वासमा समस्या बढ्दै गएपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
पर्वतको कुश्मा नगरपालिका १२ ठुलिपोखरीका ४९ बर्षिय पुरुषलाई थप उपचारका लागि संक्रमितका परिवारले काठमाण्डौ लगेका हुन् । गत शुक्रबार उनको एन्टिजेन परिक्षणका क्रमममा पोजेटिभ देखिएको थियो । तत्पश्चात् अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका उनलाई सोमबार दिउँसो हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ढुण्डिराज पौडेलले जानकारी दिनुभयो ।
परिवारका सदस्यले थप उपचारका लागि काठमाण्डौ लैजाने बताएपछि अस्पतालले रिफर गरेको डाक्टर पौडेलले बताउनुभयो । पर्वतमा पछिल्लो समय कोभिड १९ को संक्रमित तालिका उकालो लागेको छ । हाल सम्म कोभिड १९ को संक्रमणका कारण ६२ जनाको मृत्यु भइसकेको छ भने २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।
पर्वत अस्पतालको आइसोलेसन कक्षमा संक्रमितहरुको संख्या भरिभराउ रहेको छ । १० बेड क्षमताको आइसोलेसन कक्षामा १० जना विरामी उपचाररत रहेको अस्पतालले जनाएको छ।







