पर्वत, १५ जेठ
बचत तथा ऋण जिल्ला सहकारी संघ पर्वतको आयोजनामा पर्वतको विभिन्न स्थानीय तहमा सञ्चालित २६ सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुलाई वित्तीय विश्लेषण तथा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी, जलजला, विहादी र पैञ्यू गाउँपालिकामा सञ्चालित सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुलाई तालिम प्रदान गरिएको हो ।
जेठ ९ देखि १४ गते सम्म सञ्चालन भएको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं गण्डकी प्रदेश संयोजक रामबहादुर जिसी, कृषि सामग्री कम्पनी लि. पर्वतका प्रमुख नारायणप्रसाद शर्मा, बचत तथा ऋण जिल्ला सहकारी संघ पर्वतका संस्थापक अध्यक्ष गोविन्द पहाडी, जिल्ला अध्यक्ष शेषराज रेग्मी लगायतले सहजिकरण गरेका थिए ।
तालिमको समापन सत्रमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले मुलुकको तीन खम्बे अर्थ नीति अन्तर्गत सहकारीलाई समेत अंगालेको र सहकारीमार्फत सामाजिक, आर्थिक रुपान्तरण गर्न सवैको सहकार्यता आवश्यक रहेको बताए । कार्यक्रममा पौडेलले सहकारीको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै सहकारीबाट आर्थिक उन्नतिको बाटो अप्नाउन सवैलाई आग्रह गरेका थिए ।
शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षक गोविन्द पहाडीले सिकेका कुराहरुलाई तालिममा मात्रै सिमित नगराई हिसाव कितावमा देखिने गरी व्यवहारमा उतार्न आग्रह गरेका थिए भने सहभागीको तर्फबाट विश्व पाण्डेय र रोजिना केसीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने र अन्य सञ्चालक तथा व्यवस्थापकहरुलाई तालिममा सिकेका कुराहरु सहकारीमा लागु गर्न आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तालिमको सञ्चालन बचत तथा ऋण जिल्ला सहकारी संस्था पर्वतका सचिव ऋषिराम भूसालले गरेका थिए ।
पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम शुरु
त्यस्तै सहकारी संस्थाहरुलाई पारदर्शी, जनमुखि र सहकारी ऐन नियम अनुसार संचालन गर्नका लागि सहयोग पु¥याउने उद्धेश्यले पर्वतको कुश्मामा बुधबारदेखि सहकारी व्यवस्थापन तालिम शुरु भएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा बुधवारदेखि ६ दिने तालिम शुरु भएको हो । जिल्लाका सातवटै स्थानीय तहमा संचालित सहकारीहरुलाई प्रभावकारी र व्यवस्थित ढंगवाट संचालन गर्न सहयोग पुगोस भनेर तालिम संचालन गरिएको मन्त्रालयका शाखा अधिकृत ज्ञानप्रसाद भुसालले जानकारी दिए ।
तालिममा सातवटै स्थानीय तहका सहकारी शाखा प्रमुख, विषयगत सहकारीहरुको सञ्चालक समितिका पदाधिकारी र सदस्य गरी ३० जनाको सहभागिता रहेको छ ।









