उप प्रमुखलाई पनि समान अधिकार
पर्वत, १५ जेठ
फलेवास नगरपालिकाको चौथो नगरसभामा सहभागी हुन आएका सभाषद्हरु सभाहलको बाहिरपट्टि उपस्थिति जनाउन लाइनबद्ध थिए । मंगलबार विहान साढे १२ बजेको समयमा ठिक शुरु गर्ने भनिएको कार्यक्रम तोकिएको समयभन्दा केही घर्किएको थियो, सभाषद् लाइनमा बसेर उपस्थिति जनाउँदा जनाउँदै जनाउ घन्टी बज्यो, सबै सभासद र आमन्त्रित पाहुना आ–आफ्ना परिचयपत्र भिरेर भित्र पस्न के लागेका थिए फलेवास प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीहरुबाट सहभागीहरुलाई झोला र महत्वपूर्ण सामान बाहिरै राख्न अनुरोध गरियो । त्यसपछि सभाषद् भित्र प्रबेश गरेको केही मिनेटमा नै नगरप्रमुख पदमपाणी शर्मा सभाकक्षमा प्रबेश गरे संगै राष्ट्रियगानको धुन बज्यो । धुन सकिएपछि नगरप्रमुखले सरासर रोष्टममा गएर नगरसभा शुरुवात भएको जानकारी सँगै कार्यक्रम तालिका अनुसार विधेयक प्रस्तुत गर्नुभयो ।

यो दृश्य कुनेै प्रतिनिधिसभा वा संसदको होइन । संसदमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको र विभिन्न विषयमा छलफलका क्रममा आयोजित सभाहरु हामीले देखेका छौँ । त्यही शैलीमा फलेवास नगरपालिकाले आफ्नो चौथो नगरसभा मंगलबारदेखि शुभारम्भ गरेको छ । विभिन्न विधेयकहरु परिमार्जन गरी छलफल गरेर पारित गर्ने हेतुले नगरसभा आयोजना गरिएको थियो ।

विधेयक प्रस्तुतका क्रममा यसपटक फलेवास नगरपालिकाले उपप्रमुखलाई पनि अधिकार दिएर सभा सञ्चालन गरेको छ । अन्य स्थानीय तहमा उपप्रमुखले पाएका अधिकारहरु पनि खोसिएको गुनासो आइरहेका बेला फलेवास नगरपालिकाको नगर सभामा भने उपप्रमुख मञ्जु अधिकारीले प्रमुख कै बराबर अधिकार प्रयोग गर्नुभयो । पहिलो बैठकमा प्रस्तुत भएका विभिन्न ३ विधेयक मध्ये फलेवास नगरपालिकाको स्वास्थ्य विधेयक २०७६ र सरसफाई विधेयक २०७६ नगर प्रमुख शर्माले आफै प्रस्तुत गर्नुभयो भने नगर प्रमुख सभाकक्षबाट बाहिरिएपछि उपप्रमुख मञ्जु अधिकारीले सोही रोष्टममा बसेर बालबालिका सम्बन्धि विधेयक २०७६ र बैठकको समापन गर्नुभएको हो ।
करिव आधा घण्टामा समापन भएको बैठकमा विधेयक प्रस्तुत सँगै टिकाटिप्पणी का लागि सभाषद्हरुलाई विधेयक हेर्न र बुभ्mनका लागि २४ घण्टाको समयावधि तोकेर प्रस्तुत विधेयकको छायाकपि प्रदान गरिएको थियो । प्रस्तुत भएका विधेयकका बारेमा बुधबार आयोजित बैठकमा मात्रै सभासद्ले टिका टिप्पणी गर्ने छन् ।
सभासद्हरुले कानुनको राम्रो सँग अध्ययन गरेर मात्रै क्रिया प्रतिक्रिया दिउँन् भन्ने उद्देश्यले २४ घण्टाको समयावधि प्रदान गरिएको सभाका सचिव तथा प्रशासकीय अधिकृत मोति सापकोटाले बताउनुभयो । स्थानीय सरकारका रुपमा स्थापित भइसकेकोले सोही अनुरुप सरकारको झल्को दिनका लागि यस्तो शैली अप्नाइएको शर्माले बताउनुभयो ।
मंगलबार र बुधबार गरी दुई दिन सम्म सञ्चालन हुने गरी शुरु भएको सभामा दोश्रो दिन अघिल्लो दिन प्रस्तुत भएका विधेयक उपर छलफल सँगै पारित गर्ने र चालु आर्थिक बर्षको संशोधित बजेटका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।









