पर्वत, २१ असार
विभिन्न परिस्थितका कारण नेपालमा जन्मिएर पनि बेलायतमा बसोबास गर्दै आएका गुरुङ समुदायका व्यक्तिहरु संगठित तमु समाज युकेले पर्वतको दुर्लुङमा गत जेठ ३१ गते राती गएको पहिरोबाट पिडित बनेका परिवारहरुलाई सहयोग प्रदान गरेको छ ।
पहिरोबाट मानवीय क्षति व्यहोर्न बाध्य तीन परिवार र पहिरोबाट विस्थापित भएका ५ परिवार गरी ८ परिवारलाई राहात स्वरुप ४ लाख ६२ हजार ६ सय ७२ रुपैँया सहयोग उपलब्ध गराएको हो । रकम संकलनका लागि तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको सक्रियता तथा तमु समाज युकेका उपाध्यक्ष शिब कुमार गुरुङको संयोजकत्वमा उक्त रकम संकलन गरी पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । रकम संकलन तथा पिडित परिवार सम्म पु¥याउनका लागि दुर्लुङमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका भुतपुर्व क्याप्टेन जीवन गुरुङ, खेमबहादुर गुरुङ, धरमबल गुरुङ र निरज गुरुङले सहयोग गर्नुभएको थियो । उक्त सहयोग संकलन अभियानमा नेपालमा जन्मिएर बेलायतमा बसेका नेपालीमनहरुले सहयोग रकम उपलब्ध गराएका थिए ।
दुर्लुङमा गएको उक्त पहिरोमा परी ३ परिवारका ९ जनाको ज्यान गएको थियो । मृतक ९ जनालाई २७ हजार ३ सयको दरले २ लाख ४५ हजार सात सय, हस्तान्तरण गरिएको छ । पहिरोमा परि आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई १ लाख ९ हजार दुई सय, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई ८१ हजार ९ सय र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई ५४ हजार ६ सय रुपैया हस्तान्तरण गरिएको हो ।
त्यस्तै पहिरो पिडित भुवन गिरीलाई ५४ हजार ९ सय ७२ र अन्य चार परिवार हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपती सिंजाली ४० हजार पाँच सय रुपैयाको दरले राहत वितरण गरिएको हो ।
राहत रकम हस्तान्तरण गर्दै सांसद पदम गिरीले दुर्लुङको इतिहासमै पहिलोपटक यति ठुलो घटना घटेको बताउँदै कल्पनासमेत नभएको ठाउँमा पहिरो जाँदा ८ जनाले ज्यान गुमाउनुपरेको बताउनुभयो । उहाँले पहिरोमा घर पुरिएका र विस्थापित बनेका परिवारको पुर्नस्थापनाका लागि पहल भैरहेको समेत बताउनुभयो । आफु संघीय सांसद र स्थानीयवासी समेत भएकोले पहिरो जाने वित्तिकैदेखि निरन्तरण पिडितहरुको राहत र उद्धारका लागि सक्रिय भएर लागि परेको बताउँदै धैर्यधारण गर्न समेत पिडितहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सांसद गिरीले तमु समाज युकेमा आबद्ध गुरुङ समुदायका नेपाली मनहरुले बेलायतमा बसेरपनि नेपाली भूमि प्रति देखाएको माया ममता र पिडामा मलम लगाउन सँधै अग्रसर भएको बताउँदै धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
आज भन्दा आठ बर्ष अघि सन् २०१२ मा बेलायतको च्यारिटि कमिशनमा परोपकारी संस्थाका रुपमा बैधातिक तबरबाट दर्ता भएर सञ्चालन हुँदै आएको तमु समाज युकेले दुर्लुङमा मात्रै नभएर यस अघि नेपालीको आपतकालिन अवस्थामा सहयोग गर्दै आइरहेको छ । तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङले दिएको जानकारी अनुसार समाजले यस अघि २०७२ सालको विनासकारी महाभुकम्पको समयमा गोरखा, कास्की र लम्जुङमा १५ लाख रुपैँया बराबरको राहात उपलब्ध गराएको थियो भने धादिङमा १७ लाख रुपैँया बराबरको विद्यालय भवन निर्माण गरेको छ । त्यस्तै सेती नदीमा आएको बाढीका कारण विस्थापित भएका परिवारहरुलाई समेत सहयोग प्रदान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । हाल कोरोनाका महामारीको समयमा पनि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि चारलाख भन्दा बढी सहयोग उपलब्ध गराएको समाजले जनाएको छ ।
दुर्लुङमा आयोजित राहात वितरण कार्यक्रममा राहतका लागि अगुवाई गर्दै आएका इन्द्रबहादुर गुरुङ, वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले बोल्नुभएको थियो । कार्यक्रममा तमु समाज युकेबाट प्रेषित समवेदना पत्र समेत कार्यक्रम सञ्चालक हमबहादुर थापाले बाचन गरेर सुनाउनुभएको थियो ।









