पर्वत, २४ चैत
पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका ठक्करप्रसाद शर्माले विरामी र अशक्त व्यक्तिहरुका लागि औषधोपचारमा जान निःशुल्क गाडीको व्यवस्था मिलाएका छन् । तिलाहार स्थित विभिन्न संघ संस्थाको नेतृत्व सम्हालेका शर्माले लक डाउनको समयमा सवारी साधन नपाएर कुनैपनि व्यक्तिहरुले औषधोपचारबाट विमुख हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क सवारीको व्यवस्था गरेका हुन् ।
शर्माले हिजो आइतबार देखि शुरु गरेको अभियानबाट ३ जनाले सेवा लिइसकेका छन् । उनका अनुसार मोदी गाउँपालिकाका सवै वडामा र छिमेकी स्थानीय तह कुश्मा नगरपालिकाको वडा नं. ११ पकुवा र वडा नंं. १४ आर्थरका रहेका सर्वसाधरणहरुलाई सेवा दिन शुरु गरिएको हो । उनले अत्यावश्यक र इमर्जेन्सी विरामीहरुका लागि आफु सेवा गर्न तत्पर रहेका बताए ।
कोरोना भाइरसका कारण आक्रान्त बनेका सर्वसाधरणका लागि ठक्कर प्रसाद शर्माले सञ्चालन गरेको सेवाबाट धेरै व्यक्तिहरुलाई राहातको महसुस भएको रेडक्रस सोसाइटी उपशाखा डिमुवाका सभापति दिपेन्द्र जंग लामिछानेले जानकारी दिए । सहयोगदाता शर्माले तत्काल अस्पताल पु¥याउनुपर्ने विरामी तथा विरामीका आफन्तहरुले सम्पर्क गर्न आग्रह गरेका छन् । उनले सवारी आवश्यक परेका व्यक्तिहरुलाई ९८५७६३०६७७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।






