पर्वत, १७ चैत
अहिले मुलुक विश्वव्यापी रुपमा कोरोना भाइरसबाट प्रताडित छ । नेपाल भित्रै पनि यसको असर देखिँदै गएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । यो समाचार तयार पार्दा सम्म पछिल्लो समयमा बागलुङकी एक युवती समेत गरी ५ जना नेपाल भित्रै संक्रमित फेला परेका छन् ।
संक्रमण लागिसकेपछि पछुताउनु भन्दा पनि लाग्नै नदिनु बुद्धिमानी हो । सरकारले चैत्र ११ गतेदेखि संक्रमणलाई फैलिन नदिनकै लागि मुलुकभर लकडाउन गरेको छ । चैत ११ गतेदेखि १८ गते सम्मका लागि गरेको लकडाउनको निर्णयलाई पुनः थप गरी चैत २५ सम्म गर्ने गरी लकडाउनको समय थप गरेको छ ।
कुश्मा नगरपालिका वडा नं. ७ को कार्यालयले संघीय सरकार, स्थानीय सरकार र प्रहरी प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै विना काम घर बाहिर निस्किने व्यक्तिहरुको अनुगमन नै गरेर नामावली संकलन गर्ने भएको छ । वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार यसरी नियम उल्लंघन गर्नेलाई वडा कार्यालयबाट प्रदान गर्ने सेवा सुविधामा समेत रोक लगाउने बताए । उनले पटक पटक अनुरोध गर्दा पनि आफ्नै स्वास्थ्यको ख्याल नगरी सडकमा निस्किएर हिड्नेलाई नीतिगत कार्बाहीको प्रक्रियामा पुगेको बताए ।
लकडाउन भनिएपनि पर्वतमा सर्वसाधारणहरु भने विनाकाम घरबाहिर निस्किने र चोक तथा सडकमा जम्मा भएर कोरोना बहस गर्न थालेपछि पर्वतमा थप कढाई गरिएको छ । छिमेकी जिल्ला बागलुङकी युवतीलाई संक्रमण देखिए सँगै पर्वतमा लकडाउन पालनाका लागि प्रहरीले सक्रियता बढाएको छ । बजार भित्रैका बासिन्दाहरु अटेर गरेपछि प्रहरीले सडकमा लाठी चार्ज नै गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ भने केही सवारीसाधनहरुलाई नियन्त्रणमा समेत लिइएको छ ।









