पर्वत, १५ चैत
अहिले मुलुक विश्वव्यापी रुपमा कोरोना भाइरसबाट प्रताडित छ । नेपाल भित्रै पनि यसको असर देखिँदै गएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । यो समाचार तयार पार्दा सम्म पछिल्लो समयमा बागलुङकी एक युवती समेत गरी ५ जना नेपाल भित्रै संक्रमित फेला परेका छन् । हामी कामना गरौँ संक्रमितहरु संक्रमणलाई जितेर सकुसल घर फर्किउन् ।
संक्रमण लागिसकेपछि पछुताउनु भन्दा पनि लाग्नै नदिनु बुद्धिमानी हो । अहिले विश्व संकटमा रहेका बेला पर्वतमा विकास निर्माणका काममा मजदुरहरु सक्रिय भइरहेका छन् । हामी यो समयमा विकास निर्माणका कार्यमा सक्रिय हुनुभन्दा पनि व्यक्तिगत सुरक्षामा सक्रिय हुनु ठूलो कुरा हो । तर यो अवस्थामा मजदुरहरुको दुखेसो सुनिदिने कस्ले ? नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश शाखाका महासचिव गणेश पौडेलले फेसबुकमा पोष्ट गर्दै चिन्ता व्यक्त गरेका छन् ‘विहान बेलुका हातमुख जोर्नकै लागि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका मजदुरको भान्छालाई एक पटक सोचौँ’ उनले फेसबुकमा पोष्ट गर्दै भनेका छन् ‘जनता भान्छा घर सञ्चालनमा स्थानीय तहले सोच्न जरुरी छ, त्यसका लागि कुश्मा नगरपालिकाको बासिन्दाको हैसियतले २० हजार रुपैँया सहयोग गर्न तयार छु ’
पौडेलले फेसबुकमा पोष्ट गरेको स्टाटस जस्ताको त्यस्तै
दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुका विषयमा अब सोचौं ।
अनि सुरुवात कुश्मा नगरपालिका बाटै गरौं ।
कोरोना भाइरसका कारण विश्वका करोडौं जनताको स्वास्थ्य तथा जनजीवनमा गहिरो असर परेको छ ।
समग्र विश्व नै प्रभावित भएको बेला नेपाल मात्रै अछुतो रहने संभावना रहेन । यही कुरा दृष्टिगत गरि यसको असर कम गर्न संघ, प्रदेश र स्थानिय तहमा समेत धेरै प्रयासहरु भएका छन ।
यो विषम परिस्थितिले हामी सबैमा असर पार्ने भए पनि ज्यालामजदुरी गरेर बिहान बेलुकीको छाक टर्ने श्रमिक, सबैभन्दा बढी प्रताडित हुने देखिन्छ । त्यसैले उनिहरुको स्वास्थ्यमा असर नपर्ने गरि दुईछाक खाने प्रवन्ध गर्दा उनिहरुको पीडा केही कम गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाज्यूले नागरिकस्तरबाट प्राप्त सुझावका आधारमा अगाडि सार्नुभएको स्थानीय तह मार्फत ‘जनता भान्छा घर’ सञ्चालन गर्ने उपाय सबैभन्दा उपयुक्त लागेको छ । अाजका दिन सम्म भाइरस बिरुद्धको अभियानमा कुश्मा नगरपालिकाले गरेका सवै प्रयासहरुको प्रशंसा गर्दै भान्छाघर सञ्चालन गर्न नगरपालिकाले तत्परता देखाउने छ भन्ने अपेक्षा गरेको छु । यसका लागि सम्बन्धित वडा कार्यालय बाट परिचयपत्र वितरण गरि, सुरक्षा निकाय तथा आवश्यक स्वयंसेवक परिचालन गर्ने वा उपयुक्त विधि अवलम्बन गर्ने गरि तयारी थालौं । यसरी सञ्चालन हुने जनता भान्छाघरका लागि एक नगरबासिका हैसियतले म नगद रु २०,०००/- ( बीस हजार रुपैयाँ ) प्रदान गर्ने प्रतिबद्धा समेत व्यक्त गर्दछु ।









