पर्वत, चैत १५ गते
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउनको अवस्था सिर्जना भएपछि मृगौला पिडित विरामीहरुलाई डाइलाइसिसमा समस्या भएको छ । जिल्लाको अस्पतालमा डाइलाइसिसको सेवा नभएको र अन्यत्रका विभिन्न अस्पतालहरुबाट डाइलाइसिसको सेवा लिँदै आएका विरामीहरुलाई समस्या भएको हो ।
पर्वतमा मृगौला पिडितको वास्ताविक तथ्याङक कुनै पनि निकायमा छैन । पर्वत जिल्लामा मृगौला पिडितहरुको तथ्याङक नभएपनि इन्सेककर्मीको सम्पर्कमा रहेका सात जना पिडितहरुसँग सम्पर्क गर्दा समस्यामा परेको गुनासो गरेका छन् । पर्वतको फलेवास नगरपालिका १० कुर्घाका त्रिलोचन शर्माको परिवारमा एकैपरिवारका तीन जना सदस्यहरु मृगौला पिडित रहेका छन् । उनीहरु लकडाउन अगावै गाउँ छाडेर पोखरामा डेरा गरि बस्दै आएका छन् भने फलेवास नगरपालिका २ देविस्थानका ६१ बर्षिय विष्णु सुनारपनि पोखरामा डेरा नै खोजेर बस्न बाध्य हुनुभएको छ ‘घरबाटै आउने जाने गर्नुहुन्थ्यो’ छोरा मिनबहादुर सुनारले भन्नुभयो ‘पोखरामा नै गएको बेला लकडाउन भयो अनि डेरा खोजेर बस्न बाध्य भइयो’ उहाँले लकडाउनका कारण रगतको अभाव खड्किएको र अस्पतालले इन्जेक्सनबाट रगत बढाउने औषधी दिइरहेको बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङकी अमृता शर्मा, मोदी गाउँपालिका २ देउपुरका रणबहादुर हमाललाई पनि लकडाउनले डाइलाइसिसमा समस्या भएको छ । हप्ताको दुई पटक डाइलाइसिस गराउदै आएका देउपुरका मृगौला पिडित हमालले लकडाउनका कारण अस्पताल सम्म जान समस्या भएको बताउनुभयो । घरमा परिवार सँग बस्दै आउनुभएका हमाल अघिल्लो चैत्र ११ गते मंगलबार बागलुङ अस्पतालमा कस्टप्रद यात्रा गरेर उपचारका लागि गएको गुनासो गर्नुभयो । ‘एम्बुलेन्समा जाउँ खर्चले साध्य हुँदैन’ उहाँले भन्नुभयो ‘आफन्तको मोटरसाइकल मागेर जाँदा पनि बाटोमा दुःख पाइयो’
पर्वत जिल्ला अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पतालमा नै डाइलाइसिस सेवा सुचारु गर्ने तयारी गरेपनि कोरोना भाइरसकै महामारीका कारण सञ्चालनमा ल्याउन सकेको छैन । आवश्यक उपकरणहरु अस्पतालमा ल्याइएको भएपनि सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । अस्पतालले अहिले मृगौला पिडित विरामीहरुको तथ्याङक संकलन गरिरहेको उहाँले बताउनुभयो ।









