कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै पर्बतमा दैनिक उपभोग्य वस्तु लिन आउने ग्राहकका लागि दूरी कायम गरिएको छ । बजार क्षेत्रमा दैनिक उपभोग्य पसलमा बिहान र साँझ भिडभाड हुन थालेपछि कुश्माबजारमा सञ्चालित गणपति डिपार्टमेण्ट स्टाेर्सले ग्राहकहरूको लाइन बस्ने स्थानमा रेखांकन गरेको छ ।
रेखांकनपछि पसलमा पनि भिड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने भएकाले यो प्रक्रियाको थालनी गरिएको सञ्चालक राजकुमार बस्नेतले बताए । ‘एक ग्राहकपछि अर्को ग्राहक बस्नका लागि तीन फिटको दूरी कायम गरिएको छ,’ उनले भने । दैनिक उपभोग्य पसलहरूलाई नेपाल सरकारले अत्यावश्यकमा राखेको छ । जसका कारण अरू व्यापार, व्यवसाय बन्द गरिए पनि किराना दैनिक उपभोग्य सामानका पसल भने सञ्चालनमा छन् ।







