
पर्वत, १८ बैशाख
माता पार्वतीको जन्मभूमि अर्थात ‘माइती घर’ का रुपमा परिचित पर्वतको पाङसँगै विश्वकै लामो साततले चर्चित गुप्तेश्वर गुफा लगायत पर्वतका अन्य विभिन्न धार्मिक तिर्थस्थलहरुलाई समेटेर पर्वतमा महायज्ञको आयोजना गरिएको छ ।
हिन्दुहरुका आराध्यदेव भगवान शिब र माता पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ पर्वतमा जेठ १ देखि ११ गते सम्म सञ्चालन हुने गरी महायज्ञ आयोजना गरिएको हो । महायज्ञको समय नजिकिँदै जाँदा त्यसको तिब्र रुपमा तयारी समेत भइरहेको छ ।
माता पार्वतीको जन्मभूमी पर्वत पाङ, पाङ र खुर्कोटको संगमस्थलमा रहेको पार्वती गुफा, जाडो समयमा पार्वतीले स्नान गर्ने पाङ सहश्रधारा, गर्मीयाममा स्नान गर्ने माथिल्लो सहस्रधारा जलजला पार्वतीखोला (पातीखोला), खुर्कोटमा अवस्थित भुवनेश्वरी गुफालगायतका धार्मिक स्थलहरुलाई धार्मिक किंबदन्ति अनुसार जोडेर महायज्ञ आयोजना गरिएको हो । माता पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ ।
उक्त स्थानमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न १२ ज्योर्तिलिङ्गको साथमा विश्वकै अग्लो शिव पार्वतीको मूर्ति स्थापना, गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग आश्रम र भव्य सिसमहल निर्माण गर्ने मुख्य उद्देश्यले महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताउनुभयो । ‘विशेष गरी पर्वत माता पार्वतीको माइती थलो हो भन्ने चिनाउने उद्देश्यले नै महायज्ञको आयोजना गरिएको हो’ उहाँले भन्नुभयो । उक्त कोटोहोम विराट महायज्ञमा ईश्वरकृष्णजी महाराजले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
उक्त विराट महायज्ञ तथा कोटीहुमका परिकल्पनाकार कथावाचक इश्वरकृष्ण जी महाराजले पर्वतलाई ऐतिहासिक धार्मिक स्थलका रुपमा विकास गर्ने महान उद्देश्यले आयोजना गरिएको महायज्ञलाई सफल बनाउनका लागि पर्वतबासी सवैको उत्तिकै भूमिका रहेको बताउनुभएको छ । उहाँले पर्वतलाई वर्तमान अवस्थामा भन्दा पनि भविष्यलाई धार्मिक हिसावले उज्जवल क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यले महायज्ञ तथा कोटिहोमको आयोजना गरिएको बताउनुभयो ।








