पर्वत, १३ चैत
हत्या घटनामा संलग्न रहेर १७ बर्षअघि देखि फरार रहेका एक अभियुक्तलाई पर्वत जिल्ला अदालतले मंगलबार जन्मकैदको फैसला सुनाएको छ । २९ मंसिर ०५८ मा पर्वतको साविक लेखफाँट ४ कुवापानीका २१ बर्षिय अनबहादुर पुनको हत्या गरेको अभियोगमा फरार रहेका अभियुक्त क्षेत्र गर्बुजालाई जिल्ला न्यायधिश सुर्यबहादुर थापाको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा साविकको पर्वत लेखफाँट ९ घर भई तनहुँ दुलेगौडा बस्दै आएका २७ वर्षिय ज्ञानबहादुर पाइजा र साविकको म्याग्दी राम्चे गाविस घर भई दुलेगौडा बस्दै आएका २५ वर्षिय एन्जु पुन भन्ने इन्द्रप्रसाद पुनलाई प्रहरीले २०६८ सालमा पक्राउ गरी अदालतको फैसलाबाट पर्वत जिल्ला कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । २४ चैत २०६८ मा पर्वत जिल्ला अदालतले मुद्धा मुलतबीमा रहने गरी नियन्त्रणमा रहेका अभियुक्त दुई ज्ञानबहादुर पाइजा र एञ्जु पुनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
उक्त घटनाका फरार अभियुक्त क्षेत्र गर्बुजा नियन्त्रणमा आउन नसकेपछि पर्वत जिल्ला अदालतले मुलतबीमा रहेको मुद्धालाई जगाएर उक्त फैसला सुनाएको हो । पुराना मुद्धाहरुको हकमा दुई बर्ष भन्दा बढी समय नराखि किनारा लगाउने ऐन बमोजिम पर्वत जिल्ला अदालतले मंगलबार फैसला सुनाएको हो । घटनाका आरोपित साविकको तनहुँ दुलेगौडा २ का ४४ बर्षिय क्षेत्र गर्बुजा भने फरार नै रहेका छन् । उनी फरार रहेकै अवस्थामा पर्वत जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।









