पर्वत, ११ चैत
पर्वतको कुश्मा नगरपालिका ११ पकुवा सिल्मीमा विद्यार्थीलाई पारिवारीक वातावरण शैलीमा पठनपाठन गराउने गरी विद्यालय भवन निर्माण कार्य तिब्र पारिएको छ । सिल्मीको स्यानीपोखरी आधारभूत विद्यालयमा करिव १९ लाखको लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो ।
उक्त विद्यालय भवनको प्रतिनिधि सभा सदस्य पदम गिरीले शिलान्यास गरेका थिए । गत १ माघ देखि निर्माण कार्य शुरु भएको भवनको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । भवनलाई बैशाखको दोश्रो सातासम्म सम्पन्न गरी नयाँ शैक्षिक सत्र नयाँ भवनमा सञ्चालन गर्ने गरी निर्माण कार्य भइरहेको विद्यालयका प्रधानध्यापक रामबहादुर क्षेत्रीले बताए ।

उक्त भवन निर्माणका लागि गोर्खा वयलफर सोसाइटी स्याङजाले १५ लाख सहयोग गरेको छ भने बाँकी रकम जनश्रमदानबाट गर्ने गरी भवन निर्माण भएको हो । भूकम्परहित र आधुनिक प्रविधिलाई प्रयोग गरेर निर्माण गरिएको भवनमा विद्यार्थीहरुलाई पारिवारीक वातावरणमा राखेर पठनपाठन गराउने तयारी गरिएको प्रअ क्षेत्रीले बताए । ‘विद्यालयमा डेष्क बेञ्च राखेर बालबालिकालाई यातना हुने भएकोले अब बसेर पढ्ने गरी बनाउँदैछौँ’ प्रअ क्षेत्रीले बालबालिकालाई पठनपाठनका लागि सहज होस भनेर कक्षाकोठामा बसेर विद्यार्थीको इच्छानुसार नै पढाउने तयारी गरेको जानकारी दिए ।
विद्यालयमा रहेको पुरानो भवन भुकम्पबाट क्षतिग्रस्त बनेपछि गोर्खा वेयलफर सोसाइटीले उक्त सहयोग गरेको हो भने पुनः निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई शिक्षाबाट पनि २२ लाख बराबरको अर्को भवन बन्ने भएको छ । विद्यालयमा नयाँ भवन निर्माण सँगै पुरानो शैक्षिक वातावरणलाई परिवर्तन गरेर बालबालिकालाई पढाउने भएपछि विद्यार्थीहरुको आकर्षण समेत बढ्दै गएको स्थानीय अभिभावक इन्द्र नेपालीले बताए ।









