प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए।
‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,’ उनले भने।
प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जनाए।
विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीरले नेताहरूलाई आग्रह गरे।
‘नेपालका नेताजीहरूलाई आग्रह गर्न चाहन्छु, आफैंले जवाफ दिन नसक्ने कुराहरू नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन। नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने। बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ।’
प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए।
उनको प्रश्न थियो, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’
प्रधानमन्त्री ओलीले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारे।
‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उनले भने, ‘पुनर्गठन हुँदैन।’









