पर्वत, १५ कार्तिक
आज हरिबोधनी एकादशी । पर्वत स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रहरुमा कालीगंगा स्नान गर्नेहरुको भीड लागेको छ । विगतका बर्षहरुमा स्नान गर्ने क्रममा धर्मावलम्बीहरुलाई नदीले बगाएका घटनाहरु दोहोरिन नदिनका लागि यस बर्ष भने नेपाल प्रहरी र शसस्त्र प्रहरीका सुरक्षाकर्मीहरु मेला लाग्ने स्थानहरुमा उपकरण सहित तैनाथ अबस्थामा रहेका छन् ।
पबित्र कालीगण्डकी नदीमा स्नान गर्न सँधै जसो हजारौंको संख्यामा भक्तजनहरु भिड लाग्ने गरेको छ । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीबेणी धाम, जैमिनिघाट, एसीयाकै ठुलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्राम स्थित सेतीबेणी लगायत गोपाङघाट, नयाँपुल, पुर्तिघाट, मालढुंगा, खनियाघाट लगायतका स्थानमा स्नान गर्ने भक्तजनहरुको घुंँइचो लागेको छ । विगतका बर्षमा स्नान गर्ने क्रममा नदीले बगाउने गरेका घटनाहरु दोहोरिन नदिनका लागि यस बर्ष भीड भाड हुने कालीगण्डकी नदी किनारका स्थानहरुमा ड्युटीमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक पूणिमा थापाले बताउनुभयो । शसस्त्र प्रहरी बल चण्डिका गणका बरिष्ठ हवल्दार थमन सिंह आलेको नेतृत्वमा विपत्उद्धारका सामग्री सहित ७ जनाको टोली मोदीबेनीमा खटिएको थियो ।
त्यस्तै अन्य मेला लाग्ने तथा नदी किनारमा भेला हुने स्थानमा समेत सुरक्षाकर्मी खटिइएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । कालीगण्डकी नदीमा स्नान गर्नका लागि पर्वतका साथै बागलुङ्ग, स्याङ्गजा, गुल्मी, पाल्पा र भैरहवाबाट ठुलो संख्यामा श्रद्धालु झक्तजनहरु आएका छन् । मोदीवेणीधाम र सेतीवेणीमा विशेष मेला लाग्ने गर्दछ ।
कालीगण्डकीमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पुजा गरेमा पुण्य प्राप्त हुने बिश्वासमा झक्तजन निराहार ब्रतबसी स्नान गर्ने चलन छ । हरीशयनी एकादशीदेखि चौमास ब्रत बसेकाहरुले पनि आज कालीगण्डकी नदिका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन रहेको छ ।









