पर्वत, ३१ साउन
न्याय परिषद्ले साउन २२ गतेको निर्णयअनुसार पर्वत जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानालाई उच्च अदालत पाटनमा नियुक्ति गरेको छ। सोही क्रममा स्याङ्जा जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश बासुदेव पौडेललाई साउन ३० गतेको निर्णयअनुसार पर्वत जिल्ला अदालतमा सरुवा गरिएको हो।
न्याय सम्पादन प्रक्रियाको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित गरिएको यस सरुवाले अदालतको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
न्यायाधीश ढुङ्गानाले पर्वतमा कार्यरत रहँदा विभिन्न संवेदनशील मुद्दाहरूको छिटो निस्तारणमा योगदान पुर्याएका थिए। पौडेल स्याङ्जामा रहँदा मुद्दा व्यवस्थापनमा सक्रिय भई समयमै फैसलाको दर बढाएको अनुभव बोकेका न्यायाधीश हुन्।
यस सरुवासँगै न्याय परिषद्ले देशभर जिल्ला न्यायधिशमा १२२ र उच्च अदालतमा ८८ जना न्यायाधीशहरूको एकैपटक सरुवा गरेको जनाएको छ। परिषद्का अनुसार, नियमित सरुवाले अदालतको न्याय सम्पादन क्षमतालाई मजबुत पार्ने र नागरिकमा न्यायपालिकाप्रतिको विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।









