पर्वत, ५ असार
चालु आर्थिक बर्षको १० महिनामा गण्डकी प्रदेशभर ५ सय २५ जनाले आत्महत्या गरेका छन् । चालु बर्षको बैशाख सम्म गण्डकी प्रदेशका ११ जिल्लामा १ सय ९९ महिला र ३३६ पुरुष गरी ५सय २५ जनाले आत्महत्या गरेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार सवै भन्दा धेरै कास्की जिल्लामा आत्महत्या गर्नेको संख्या बढी रहेको छ । कास्कीमा गत १० महिनामा १ सय ३० जनाले आत्महत्या गरेका छन् भने नवलपरासी पुर्वमा १ सय ४, तनहुँमा ६६, गोरखामा ६०, स्याङजामा ५१, बागलुङमा ४५, पर्वतमा २५, लमजुङ २२, म्याग्दी १८ र मुस्ताङ र मनाङमा २,२ जनाले आत्महत्या गरेका छन् ।
जसमध्ये सवै भन्दा धेरै झुण्डिएर ४ सय ६४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवन गरेर ३२, हामफालेर १४, पानीमा हामफालेर ९ र ३ जनाले हातहतियार प्रयोग गरी आत्महत्या गरेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
यसरी आत्महत्या गर्नेहरुको कारण पत्ता लगाउने कुनै प्रविधि नभएपनि प्रहरीले स्थलगत घटनाक्रमलाई नियाल्दा गत १० महिनामा २ सय ८६ जनाले आबेशमा आएर आत्महत्या गरी ज्यान गुमाएको पाइएको छ । त्यस्तै १ सय ८ जनाले पारिवारिक झैझगडाका कारण आत्महत्या गरेको पाइएको छ भने ५२ जनाले प्रेममा धोका पाएर आत्महत्या गरेको तथ्याङ्क छ । गत १० महिनामा गरिवीका कारण पनि ६ जनाले आत्महत्या गरेर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
आत्महत्या न्युनिकरणका लागि गण्डकी प्रदेश प्रहरीले मातहतका प्रहरी निकायहरुमार्फत विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी बरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । उहाँले समुदाय सँग सँगसँगै मिलेर आत्महत्या बढी भएका स्थानहरुमा न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन भइरहेको बताउनुभयो ।









