पर्वत, ५ असार
पर्वतलाई जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै विहिबार जिल्लालाई आठौँ चरणमा पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतका ७ वटै स्थानीय तहका ६१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका १ हजार ५ सय ७२ जना बालबालिका र छुट्टै १६ महिना देखि २७ महिना सम्मका १ हजार ५ सय ५ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । योसँगै पर्वत गण्डकी प्रदेशकै पाँचौ पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।
कार्यालयका अनुसार चालु आवमा पर्वतको कुश्मा नगरपालिकाका ९ सय १०, पैयु गाउँपालिकाका ३ सय १८, विहादी गाउँपालिकाका २ सय ४३, मोदी गाउँपालिकाका ४ सय ४१, फलेवास नगरपालिकाका ५ सय ३८, महाशिला गाउँपालिकाका १ सय ७३ र जलजला गाउँपालिकाका ४ सय ७० गरी कुल ३ हजार ९३ बालबालिकाकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको बताउनुभयो ।
कार्यक्रममा खोप अभियानमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो ।
तस्विर : घोषणा कार्यक्रमको एक झलक ।









