पर्वत, ११ चैत
सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । गणले स्थापना भएको २३ बर्षको अबसर पारेर विभिन्न धार्मिक, सांस्कृतिक तथा रचनात्मक कार्यहरु गरी मनाउन लागेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको शुभारम्भ गणपति करण सिंह धामीले गरेका थिए । गणले चैत १० गते देखि २०गते सम्म विविध कार्यक्रमका साथ दिवस मनाउन लागिरहेको छ । शुभारम्भको दिन चैत १० गते कुश्मा नगरपालिका ४ स्थित गुप्तेश्वर गुफा परिसरमा सरसर्फा तथा शिव पञ्चायत मन्दिरमा हनुमान जीको मुर्ती स्थानान्तरण गरिएको थियो । त्यस्तै चैत ११ र १२ गते फुटबल, भलिबल, टेबल टेनिस, महिला प्रहरीका लागि म्युजिकल चियर, हाइजम्प लङ्ग जम्प र व्याण्डमिन्टन प्रतियोगिताको आयोजना गरेको छ भने २० गते सम्म सञ्चालन हुने कार्यक्रममा रक्तदान, विद्यालय सचेतना कार्यक्रम, हतियार खोल तोड, हाजिरिजबाफ प्रतियोगिता, बृक्षारोपण, विविध सांस्कृतिक कार्यक्रम र अन्तिम दिन गण परिसरमा दिपावली कार्यक्रम तय गरेको छ ।
गणका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले दिएको जानकारी अनुसार सवै प्रतियोगिताहरु गणको आन्तरिक प्रतिस्पर्धात्मक रहने भएका छन् । पर्वतको कुश्माबजार स्थित साविकको बडागाउँ खेल मैदानमा आज भन्दा २३ बर्ष अघि सशस्त्र प्रहरी बलले गण स्थापना गरेको हो । तत्कालिन समयमा धौलागिरि क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै उक्त गण स्थापना भएको थियो ।









