पर्वत, ८ चैत
पर्वतमा कार्यरत प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले सात सिडिओको सरुवा गर्ने क्रममा पर्वतका शर्माको पनि सरुवा गरेको हो । शर्मालाई मन्त्रालय तानिएको छ भने पर्वतमा उदयपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई जिम्मेवारी प्रदान गरिएको छ ।
मन्त्रालयले चैत ६ गतेको निर्णयानुसार उक्त सरुवा गरेको हो । पर्वत जिल्लामा कार्यरत सिडिओ केदारनाथ शर्मा पछिल्लो समय पर्वतमा रहेका व्यवसायीहरुको मुद्धामा विवादित बनेका थिए । पर्वत उद्योग बाणिज्य संघले फागुन १२ गते आयोजना गरेको साधारणसभा तथा स्थापना दिवस सिडिओ शर्माले सुरक्षाको कारण देखाउँदै फागुन ११ गते मध्यरातमा कार्यक्रम सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेका थिए । उक्त विषयमा प्रमुख जिल्ला अधिकारी शर्माको कार्यशैली प्रति सामाजिक सञ्जालमा व्यापक रुपमा टिप्पणी भएको थियो । कुनै एक पक्षले उजुरी दिएकै आधारमा प्रमुख जिल्ला अधिकारीले नीजि क्षेत्रको कार्यक्षेत्रमा सिधै हस्तक्षेप गर्न नहुने भन्दै विरोध जनाएका थिए ।
अन्ततः पुन प्रमुख जिल्ला अधिकारीले फागुन १५ गते अर्को आदेश जारी गर्दै पर्वत उद्योग बाणिज्य संघको कार्यक्रम नगर्न जारी भएको आदेश खारेज भएको भन्दै अर्को आदेश जारी गरेका थिए । तत्कालिन मितिमा रोकिएको साधारण सभा पर्वत उद्योग बाणिज्य संघले चैत ९ गते सञ्चालन गर्ने भएको छ ।









