पर्वत, १६ माघ :
पर्वतमा अबैध लागु औषधको कारोबार बढ्दो क्रममा रहेको देखिएको छ । गएको त्रीबर्षिय तथ्याङ्क आकंलन गर्दा पर्वतमा लागु औषधको कारोबार बढ्दो क्रममा देखिएको हो । चालु आर्थिक बर्षको ७ महिनामा मात्रै पर्वत प्रहरीले अबैध लागू औषध ओसारपोसारमा संलग्न ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती ७ जना व्यक्तिबाट विभिन्न प्रकारका ६ सय ७२ एम्पुल अबैध लागू औषध समेत बरामद गरेको छ ।
बरामद भएको लागू औषधको यो परिणाम अघिल्ला आर्थिक बर्ष २०७९।०८० र ०८०।०८१ को भन्दा बढि रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७९।८० मा ११ जना कारोबारीलाई नियन्त्रणमा लिई ९ सय १९ थान विभिन्न प्रकारका लागू औषध बराबद गरेको थियो भने ०८०।८१ मा २ जना पू्रुषबाट २ सय १५ थान लागू औषध नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समय अबैध लागू औषधको कारोबार रोकथाममा प्रहरीले सक्रियता बढाएपछि बरामद हुने लागू औषधको परिणाम बढेको हो । लागू औषध कारोबार गर्ने व्यक्तिहरुले युवतीहरुको प्रयोग गरेर कारोबार गर्ने समेत पाइएको छ । चालु आर्थिक बर्षमा पक्राउ परेका ७ जना मध्ये ५ जना महिला मात्रै रहेका छन् । तीन बर्षसम्मको तथ्याङ्क हेर्ने हो भने पक्राउ परेका २० जना मध्ये ६ जना महिला रहेका छन् ।
प्रहरीले दिएको तथ्याङ्क अनुसार पोखरा बागलुङ सडक मार्ग भित्र अबैध कारोबार बढी भएको पाइन्छ । पर्वतका सात स्थानीय तह मध्ये मुख्य सडक मार्गले छोएका कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाबाट कारोबारीहरु प्रहरी फन्दामा परेका छन् । अन्य पालिकाबाट भने लागू औषध कारोबारीहरु नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा नियन्त्रणमा आएका लागू औषध कारोबारीहरुबाट विभिन्न सुचनाहरु प्राप्त भएका कारण अझै धेरै यसको कारोबार गर्नेलाई नियन्त्रणमा लिन सकिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले जानकारी दिनुभयो ।
लागू औषधका कारोबारीहरुलाई खोजी गर्ने अभियान प्रहरीले सञ्चालन गरे पनि अरु निकायको भने यसमा ध्यान गएको देखिदैन् । लागू औषध दुब्यर्सनीका कारण कतिपट आपराधिक घटनाहरुमा समेत बृद्धि भएको प्रहरीको तथ्यांक छ ।









