पर्वत, १७ जेठ
पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा निर्माण जन्य सामग्री अबैध रुपमा चोरी निकासी भएपछि जिल्ला स्तरीय अनुगमन समितिले चासो देखाएको छ । लामो समयदेखि अबैध रुपमा सडक नै खनेर निर्माण सामग्री चोरी निकासी भइरहेको स्थानीयबासीको गुनासोपछि विहिबार समितिले स्थलगत अनुगमन गरी उत्खनन् कार्यमा रोक लगाएको छ ।
जलजला गाउँपालिकामा पर्ने स्थानीय जनहित सामुदायिक वन क्षेत्रमा आएको पहिरो र सो सँगै रहेको दमुवा खोलामा दैनिक रुपमा निर्माण सामग्री चोरी निकासी हुने गरेको थियो ।
विहिबार जिल्ला स्तरीय अनुगमन समितिको टोलीले उक्त उत्खनन् स्थलमा कुनै पनि उपकरण हरु प्रबेश गर्न नपाउने गरी रोक लगाएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले जानकारी दिनुभयो । ‘कतिपय व्यक्तिहरुले व्यक्तिगत जग्गा चक्लाउने नाममा जबर्जस्ती निर्माण सामग्री निकासी गरेको पाइयो’ उहाँले भन्नुभयो ‘व्यक्तिगत जग्गा देखाएर सार्वजनिक स्थलबाट ढुंगा गिट्टी निकासी गरेको पाइएकोले उक्त स्थानमा प्रबेश गर्न नै नपाउने गरी रोक लगाएका छौँ’ अनुगमन टोलीले स्थानीय बन क्षेत्र र बन क्षेत्र भन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमतालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा उत्खनन् गर्न नपाउने गरी रोक लगाएको हो ।
चोरी निकासी गर्ने गिरोहले खोलामा सडक नै निर्माण गरेर निर्माण सामग्री ओसार पसार गर्ने गरेको पाइएको र भोलिका दिनमा कुनै व्यक्ति त्यहाँ प्रबेश गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । उक्त बन क्षेत्रमा करिव दुई बर्ष अघि देखि जलजला ८ नाग्लिवाङबाट करिव ३ सय मिटर ठुलो पहिरो झरेको छ । उक्त पहिरोबाट निस्किएको सामग्री समेत चोरी निकासी गर्ने गरी गिरोह सक्रिय भएको र स्थानीयबासीहरुको सहयोग लिएर हालको अबस्थाबाट विग्रन नदिन सवै सकरात्मक रहेको डिभिजन बन कार्यालय पर्वतका प्रमुख झ्याम नारायण सापकोटाले बताउनुभयो ।
कुश्मा नगरपालिकाकी प्राविधिक मञ्जु शिलाकारका अनुसार उक्त क्षेत्रमा करिव ४७ हजार घनमिटर निर्माण जन्य सामग्री उत्खनन् गर्न सकिने अवस्था छ । उक्त सामग्री उत्खनन् गर्ने हो भने नाग्लिवाङको बस्ती पूणर् रुपमा जोखिममा रहने भएकाले उत्खनन् कार्य तत्काल रोक्न सुझाव दिइएको हो । स्थानीय रुद्रबहादुर महतले अबैध उत्खनन्कै कारण पहिरो गएको र सयौँ हेक्टर सिंचाई हुने जमिनमा सिंचाई सुविधाबाट बञ्चित भई बाँझै रहेको गुनासो समेत व्यक्त गर्नुभयो ।
विहिबार जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रमुख तथा पदाधिकारी सहित राजनीतिक दलका प्रमुख, सञ्चारकर्मी, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।









