पर्वत, ६ पुस
पर्वतको कुश्मा नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयमा हाजिर भएको दुई हप्ता नवित्दै कार्यालयमा सम्पर्क विहिन रहेका छन् । मंसिर १८ गते गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य विकास मन्त्रालयबाट सरुवा भई कुश्मा नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा हाजिर भएका पराजुली केही दिन देखि कार्यालयको सम्पर्कमा नभएका हुन् ।
पराजुली सहकारी रजिष्टारको कार्यालय पोखरामा रहेका बेला मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र थप गर्ने क्रममा १ करोड ५ लाख रुपैँया घुस रिसबत लिएको अनुसन्धानका क्रममा खुलेर पक्राउ पुर्जी जारी भएपनि उनी सम्पर्क बाहिर छन् । पराजुलीले कुश्मा नगरपालिकाको नाममा जारी भएको सियूजी नम्बर ९८५७०४३१११ साथमा लिएपनि उक्त मोबाइल स्वीच अफ गरिएको अवस्थामा रहेको छ ।
कुश्मा नगरपालिकाका प्रशासन शाखा प्रमुख धु्रब पौडेलका अनुसार पराजुलीले घर विदाका रुपमा पुस ४ गतेदेखि ८ गतेसम्मका लागि विदा स्वीकृत गरी सम्पर्क भन्दा बाहिर रहेका छन् । पराजुलीले आफु विदामा रहँदा कार्यालयमा निमित्तको जिम्मेवारी समेत कसैलाई प्रदान गरेका छैनन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि केही दिन अघि अनुमति लिईसकेको छ ।
उनी कार्यरत रहेको जिल्ला पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भूसालले पक्राउ पुर्जीको बारेमा आफुहरुलाई आधिकारिक जानकारी नआएको बताए ।









