पर्वत, ३ पुस
पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरा तर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालय पर्वतले दिएको जानकारी अनुसार स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्याएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।
स्कुटरमा अझै अर्को व्यक्तिपनि सवार भएको आशंका गरिएपनि हाल सम्म पत्ता लाग्न नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । स्कुटरमा उपलब्ध लाइसेन्समा रहेको सम्पर्क नम्बरमा कुरा गर्दा खसी खोज्नका लागि कुश्मा तर्फ गएको भन्ने बुझिएको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सिसिक्यामराको सहायता लिएर खोजि गरिरहेको जनाएको छ ।









