पर्वत, १४ भदौ
पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीलाई पर्वतको तेश्रो बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । गाउँपालिकाले विभिन्न बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने सुचकहरु पुरा भएको भन्दै अनुगमनका लागि अनुरोध गरेपछि जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक संयोजक रहेको अनुगमन टोलीले भदौ २९ गते बाल दिवसका दिन घोषणा गर्नका लागि सिफारिस गरेको हो ।
मंगलबार जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक सहित जिल्ला शिक्षा तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेल, स्वास्थ्य कार्यालय पर्वतका कोल्डचेन अधिकृत जयन्द्रमान गुरुङ, जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत दिलिप सुवेदी, जिल्ला समन्वय समिति पर्वतका अधिकृत महेश शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारी लगायतको टोलीले बाल मैत्री वडा घोषणाका लागि गाउँपालिकालाई सिफारिस गरेको हो ।
अनुगमनका क्रममा केही सुचकहरु अपूर्ण भएको पाइएकोले ती सुचकहरुलाई पुरा गरेर भदौ २९ गते घोषणा गर्नका लागि सिफारिस गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विकले जानकारी दिनुभयो ।
बाल मैत्री वडा घोषणाका लागि स्थानीय बाल मैत्री शासन ऐन अनुसार ५१ वटा सुचकहरु पूर्ण रुपमा पुरा गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुरुप केही सुचकहरु पुरा नभएका कारण पुरा गरेर मात्रै घोषणा गर्न सूचित गरिएको विकले जानकारी दिनुभयो । मोदी गाउँपालिकाले यस अघि वडा नं. ८ चित्रेलाई बालमैत्री वडा घोषणा गरिसकेको छ । चित्रे पर्वतको पहिलो बाल मैत्री वडा हो भने दोश्रो वडाका रुपमा पैञ्यु गाउँपालिकाको वडा नं. ७ भोर्ले बालमैत्री वडा घोषित भइसकेको छ ।
मोदी गाउँपालिका ३ देउरालीलाई बाल मैत्री वडा घोषणा गर्नका लागि गाउँपालिका सहित गुडनेवर्स इन्टरनेसनलको सहयोगमा सोडेक नेपालले काम गर्दै आएको छ भने स्थानीय वडाले समेत सुचक पुरा गर्नका लागि विभिन्न चरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको वडा सचिव राजु भूसालले जानकारी दिनुभयो । अनुगमन पश्चात् गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले पुरा नभएका सुचकहरुलाई पुरा गरेर मात्रै घोषणा कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।







