पर्वत, ६ भदौ
पर्वतको पैञ्यु गाउँपालिकाले कक्षा ६ का विद्यार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । गाउँपालिकाको दोश्रो बैठकले पैञ्यु गाउँपालिकामा सञ्चालित १० सामुदायिक विद्यालयका १ सय ५५ जना विद्यार्थीका लागि खाजाको व्यवस्थापन गर्ने निणर्य गरेको हो ।
नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ का विद्यार्थीलाई कटौती गरि कक्षा पाचँ सम्मलाई मात्र उपलब्ध गराउने निणर्य गरेको थियो ।
सरकारको निणर्यले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु मारमा परेको हुँदा पैञ्यु गाउँपालिकाले संघीय सरकारको व्यवस्थापन हुन नसकेको खण्डमा पालिकाले आफै व्यहोर्ने गरी उक्त निणर्य गरेको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका पर्वत प्रतिनिधि सन्तोष थापाको अनुरोधमा पालिकाले उक्त प्रस्ताव बैठकमा पेश गरिएको र गाउँपालिका भित्र सञ्चालन भएका १० सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने १ सय ५५ जना बालबालिकालाई खाजाको व्यवस्थापन गर्ने निणर्य गरिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
कतिपय विद्यालयमा खाजाको आशमा बालबालिकाहरुले रित्तो टिफिन बोकेर गएको गुनासो प्राप्त भएपछि इन्सेक प्रतिनिधि थापाले उक्त कुरा पालिका समक्ष मौखिक रुपमा जानकारी गराउनुभएको थियो । पालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी पम्फा न्यौपानेले सवै विद्यालयमा सो को जानकारी समेत गराइएको बताउनुभयो ।









