पर्वत, ३ बैशाख
पर्वतको कुश्मा नगरपालिकाले १४ वटै वडामा मेलमिलापकर्ता छनौट गरेको छ । न्यायिक समिति अन्तर्गत वडाका बिबाद वडामै मिलाउने हेतुले मेलमिलापकर्ता छनौट गरिएको हो । प्रत्येक वडामा २/२ जनाको दरले मेलमिलापकर्ता छनौट गरि उनीहरुलाई तालिम दिन थालिएको हो । आजदेखि कुश्मामा मेलमिलापकर्ताका लागि ८ दिने तालिम शुरु भएको छ । जनअधिकार संरक्षण मञ्चको सहजीकरणमा कुश्मा नगरपालिकाले तालिम सञ्चालन गरि मेलमिलापका आधारभूत सीप हस्तान्तरण गर्न थालेको हो ।
तालिमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मेलमिलापकर्ता सामु न्याधिशको भूमिका निभाउनुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले पीडित र पीडक दुबै पक्षले न्यायको अनुभूती गर्ने गरि विवादको समाधान गर्नुपर्ने दायित्व रहेकाले उनीहरुमा गहन जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

कुश्मा नगरपालिकाले न्यायिक समिति लाई प्रभावकारी बनाएर वडामै वडाका विवाद समाधान गर्ने प्रयासमा रहेको जोशीले बताउनुभयो । कतिपय गम्भिर खाले विवादहरु प्रहरी र अदालत सम्म पुर्याएर समाधान गर्नुपर्ने भएकाले यसमा चनाखो हुन पनि निर्देशन दिनुभयो । तालिमले मेलमिलापकर्ताको दक्षता र सीपमा व्यवहारिक परिवर्तन हुने अपेक्षामा रहेको उहाँले बताउनुभयो ।
न्यायिक समितिका संयोजक एवं उपप्रमुख स्वास्थानी रिजालले वार्षिक कार्यक्रम अन्तर्गत मेलमिलापकर्ताको क्षमता विकासका लागि तालिम आयोजना गरिएको बताउनुभयो । तालिम लाई व्यवहारिक रुपम कार्यान्वयन गर्ने कुरामा विश्वस्त रहेको रिजालले बताउनुभयो । मेलमिलापकर्ताहरु कानुनको बारेमा जानकार हुनु आवश्यक रहेको भन्दै रिजालले तालिमले कानुनी कुराको बारेमा पनि धेरै ज्ञान प्राप्त हुने भएकाले यस लाई मनन गर्न मेलामिलापकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कुश्मा नगरपालिकाको न्यायिक समितिलाई नमूना बनाउने कुरामा तालिमले सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबाट छनौट भई आएका मेलामिलापकर्ता सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी सुनिता शर्मा अधिकारीले गर्नुभएको थियो ।









