पर्वत, १७ बैशाख
पर्वतको मोदी गाउँपालिका ६ तिलाहारमा रहेको नवजागृत माध्यमिक विद्यालयका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । समाजसेवी रबिन्द्रजंग लामिछानेद्धारा स्थापित द लामिछाने फाउण्डेशनबाट उक्त विद्यालयको कक्षा १ देखि ६ कक्षासम्म पढ्ने १ सय २० जना बिद्यार्थीलाई विद्यालय झोला, कापी तथा सिसाकलम वितरण गरिएको हो । आफ्ना वुवा चन्द्रजंग लामिछाने र आमा रुक्मिना लामिछानेको स्मृतिमा स्थापित रविचन्द्र ट्रष्ट तथा द लामिछाने फाउण्डेसनबाट संकलित रकमले विद्यालयका विद्यार्थीलाई उक्त सहयोग गरेको संस्थापक रबिन्द्रजंग लामिछानेले बताउनुभयो ।
संस्थापक लामिछाने हाल बेलायतमा रहनुभएको छ । उहाँ एक सफल व्यावसायी हुनुहुन्छ । आफ्नो जन्मथलोमा शैक्षिक विकासका योगदान गर्नुपर्छ भन्ने मान्यताका साथ संस्था मार्फत विद्यार्थीको अध्यययनमा सहयोग गर्नुपर्छ भन्ने मान्यता अनुरुप शैक्षिक सामाग्री सहयोग गरेको लामिछानेले बताउनुभयो । द लामिछाने फाउण्डेसन युकेका संयोजक लक्ष्मी राई, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, वडाध्यक्ष दिपेन्द्रजंग लामिछानेले शैक्षिक सामाग्री विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बिदेशमा रहेर पनि सामाजिक अभियान सञ्चालनमा अग्रणी भूमिका खेलेको भन्दै द लामिछाने फाउण्डेसनका संस्थापक रविन्द्रजंग लामिछानेको प्रशंसा गर्नुभयो । उहाँले शैक्षिक विकासमा राज्यको मात्रै एकल लगानीले खासै उपलब्धी नहुने भएकाले यस्ता सामाजिक संघसंस्थाले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । शर्माले विद्यालयका विद्यार्थीको अध्ययनमा ट्रष्टको सहयोगले महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । मोदी गाउँपालिका ६ का वडाध्यक्ष दिपेन्द्रजंग लामिछानेले मोदी गाउँपालिका शैक्षिक विकासको क्षेत्रमा अगाडी बढिरहेकाले यस्ता संस्थाको सहयोगले अझै प्रेरणा प्रदान गर्ने बताउनुभयो । संस्थाको सहयोगका प्रति वडा कार्यालयको तर्फबाट लामिछानेले आभार व्यक्त गर्नुभएको थियो । विद्यालयको तर्फबाट नवजागृत माविका प्रधानाध्यापक विष्णुप्रसाद सुबेदीले धन्यबाद व्यक्त गर्नुभयो । उहाँले पर्वत जिल्लाका सामूदायिक विद्यालय मध्येमा उत्कृष्ठ नतिजा हासिल गर्दै आएको आफ्नो विद्यालय सामाजिक संघसंस्थाकै कारण सफलताको दिशामा अगाडी बढेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा सहयोगी संस्थाका संरक्षक महेन्द्रजंग लामिछानेलेले सामाजिक विकासको लागि संस्थाले काम गर्दै आएको बताउनुभयो । विगतमा भूकम्प, कोभिड महामारीका बेला पनि संस्थाले सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा संस्थालाई अझ समाजसेवाको क्षेत्रमा व्यापक बनाउने सोचमा रहेको जानकारी दिनुभयो ।







