पर्वत, १२ बैशाख
०६२/६३ को जनआन्दोलनमा ज्यान गुमाएका पर्वतका गोविन्दनाथ शर्माको स्मृतिमा पर्वत उद्योग बाणिज्य संघले स्मृति कार्यक्रम गरी मनाएको छ । पर्वत उद्योग बाणिज्य संघले बैशाख १२ गतेका दिन शहीद गोविन्दनाथ शर्माको स्मृतिमा कार्यक्रम गरी मनाएको हो ।
पर्वत उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष समेत रहेका गोविन्दनाथ शर्माको जन आन्दोलनका क्रममा आजकै दिन मृत्यु भएको थियो । पुण्यतिथिकै अवसरमा पर्वत उद्योग बाणिज्य संघले स्वर्गीय शर्मा प्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
शर्माको शालिकमा आयोजित कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले माल्यार्पण गर्नुभएको थियो । माल्यार्पण सँगै अधिकारीले शहीदले बगाएको रगतको राज्यले कदर गर्न नसकेको भन्दै भोलिका दिनमा जनाधिकारको सम्मान सहित शहीदको रगतको कदर गर्न सरकारले कदम चाल्नुपर्ने बताउनुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका महासचिव रमेश शर्मा लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा उद्योग बाणिज्य संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष केदारनाथ शर्मा, पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने, शहीद परिवारको तर्फबाट देव शर्मा लगायतले श्रद्धाञ्जली मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शहीद गोविन्दनाथ शर्माका भाई देवशर्माले राज्यपक्षबाट शहीदको सम्झनामा कुनै पनि औपचारिक कार्यक्रम नगरेको गुनासो गर्नुभएको थियो । कार्यक्रममा शर्माले शहीद कुनै संघ संस्थाको नभई सिंगो राज्य मानेर सरकारी क्षेत्रबाट समेत मुल्याङकन र सम्मान हुनुपर्ने उहाँको भनाई थियो ।









