सन्तोष थापा/पर्वत, ११ फागुन
नेपाल सरकारको मुख्य सचिव भएपछि पहिलोपटक जन्मथलो पुग्नुभएका मुख्य सचिव शंकरदास बैरागीले आफुले जन्मथलोलाई अन्याय गरेको बताउनुभएको छ । बुधबार जलजला गाउँपालिका वडा नं. २ मा आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आदिबराह मन्दिर उद्घाटनका क्रममा बोल्दै मुख्य सचिव बैरागीले मुख्यसचिव भएको लामो समय पछि मात्रै जन्मभूमिमा आएको भन्दै स्थानीयबासी समक्ष यस्तो बताउनुभएको हो ।
मुख्य सचिव बैरागीले आफु विविध कारण गर्दा जन्मभूमिमा आउन नपाएको बताउँदै जन्मथलोको विकास र उन्नतिका लागि हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । उहाँले स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोतहरुको उचित संरक्षण, सम्बद्र्धन र उपयोग गर्न सक्नेहो भने समग्र जलजला गाउँपालिका मात्रै नभई मुलुकको समृद्धिमा समेत सहयोग पुग्ने बताउँदै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयबाट त्यो सम्भव हुने बताउनुभयो । ‘जलजलाको उत्थानका लागि थुप्रै सम्भावनाहरुको छन्, मैले सार्वजनिक रुपमा भन्न चाहन्न’ उहाँले भन्नुभयो ‘स्थानीय तहले त्यसतर्फ चासो देखाएमा सहयोग र सहकार्य गर्न म जहिले पनि तयार छु’ मुख्य सचिव बैरागीले आफु कामकाजको शिलशिलामा जन्मभूमिबाट टाढै भएपनि माटोको माया सदैव रहेको समेत बताउनुभयो ।
पर्वतको जलजला गाउँपालिका वडा नं. २ मा जन्मिनुभएका बैरागी परराष्ट्र मन्त्रालयको सचिव हुँदै २०७७ असोजमा नेपाल सरकारको मुख्य सचिव हुनुभएको थियो । बैरागी अहिले परिवार सहित काठमाण्डौको गौशालामा बस्दै आउनुभएको छ ।







