पर्वत, ६ फागुन
पर्वत अस्पतालमा करिव दुई सातादेखि बन्द भएको अप्रेशन सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बास्तोला तालिममा रहेका कारण रोकिएको सेवा शुक्रबार देखि पुनः शुरु भएको हो ।
शुक्रबार शल्यक्रिया मार्फत सुत्केरी सेवा प्रदान गरे सँगै पर्वत अस्पतालले चालु आर्थिक बर्षमा साउन देखि हाल सम्म ६५ जना गर्भवती महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराएको अस्पताल प्रमुख रुक्मिणा अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बास्तोला दुई साता लामो सुरक्षित गर्भपतन तालिममा खटिएका कारण शल्यक्रिया सेवा बन्द अबरुद्ध भएको र चिकित्सकको उपस्थिति सँगै फागुन ५ गते विहादी गाउँपालिका ४ कि २१ बर्षिया बबिता भट्टराईको शल्यक्रिया मार्फत सुत्केरी सेवा प्रदान गर्दै पुनः सेवा सुचारु गरिएको अधिकारीले बताउनुभयो । विशेषज्ञ नहुँदा सामान्य प्रसुति सेवाले निरन्तरता पाएपनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीहरुलाई पर्वत अस्पतालले पोखरा लगायतका ठूला अस्पतालमा रिफर गर्दै आइरहेको थियो ।
अस्पतालमा अहिले डाक्टर हेमन्त बास्तोला र डाक्टर मनिष सिं को प्रत्यक्ष निगरानीमा गर्भवती महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स लगायतका विरामीहरुको शल्यक्रिया सेवाले निरन्तरता पाउने अधिकारीले बताउनुभयो ।







