पर्वत, १९ कार्तिक
पर्वतको सवैभन्दा पुरानो क्लव पर्वत मिलन क्लवको ३१ औँ साधारणसभा तथा नबौँ अधिबेशन शनिबार कुश्मा बजारमा सम्पन्न भएको छ । जिल्लामा क्लवको माध्यमबाट विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको क्लवको अधिवेशनबाट झलक कार्कीको अध्यक्षतामा आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण गिरी, उपाध्यक्षमा क्रमश साजनकुमार श्रेष्ठ, विनोद विक्रम पोख्रेल र देवीकुमार श्रेष्ठ , महासचिवमा कृष्णप्रसाद श्रेष्ठ (रामु), सचिवमा राजेश गिरी, कोषाध्यक्षमा रमेश श्रेष्ठ र सहकोषाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सहित १४ जना सदस्य चयन हुनुभएको छ ।
क्लवको साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले क्लवले सामाजिक विकृति उन्मुलनमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा थप सचेतनामुलक कार्य गरी स्वच्छ समाज निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । जिल्लाकै स्थापित पुरानो क्लव रहेकाले विगतको शाख जोगाउन समितिका सवै पदाधिकारी तथा आबद्ध सदस्यहरु कम्मर कसेर लाग्न उहाँले सुझाव दिनुभयो ।
२०४६ सालमा स्थापना भएको पर्वत मिलन क्लवको हाल १ सय ९ जना सक्रिय सदस्य रहेका छन् । अन्य केही सदस्यहरु क्लवबाट निष्क्रिय बन्नुभएको र ती सदस्यहरुलाई पुनः क्लवका हरेक क्रियाकलापमा सक्रिय बनाउने योजना रहेको नवनिर्वाचित अध्यक्ष झलक कार्कीले प्रतिबद्धता जनाउनुभयो । उहाँले सामाजिक क्षेत्रमा मिलन क्लवले गरेका कार्यहरु स्मरण गराउँदै आगमी दिनमा दलित, अपाङग, असहाय लगायत अन्य खेलकुदका क्षेत्रमा रचनात्मक कार्य गर्ने अठोट समेत व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामहरि शर्मा, वडा नं. ६ का अध्यक्ष इश्वर गिरी, संस्थापक सल्लाहकार विष्णुप्रसाद नेवार, हरिओम शर्मा लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बरिष्ठ उपाध्यक्ष अम्बिका गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लव मार्फत उल्लेख्य कार्य गर्नुभएको दुई जना व्यक्तिलाई दिर्घसम्मान प्रदान गरिएको छ । जस अन्तर्गत आठौँ अधिवशेनबाट निर्वाचन अध्यक्ष स्व. लक्ष्मण श्रेष्ठलाई मरणोप्रान्त दिर्घ सम्मान र समाजसेवी भोजकुमार श्रेष्ठ (विकास) लाई दिर्घ सेवा सम्मान प्रदान गरिएको हो । कार्यक्रमको सञ्चालन महासचिव विनोद विक्रम पोख्रेलले गर्नुभएको थियो ।







