पर्वत, १९ कार्तिक
पर्वतमा अस्थायी मतदाताका लागि दुई अस्थायी मतदान स्थल छनोट गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको संयोजकत्वमा बसेको जिल्ला अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिको बैठकले जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दी र विभिन्न निकायमा कार्यरत कर्मचारीका लागि अस्थायी मतदान स्थल छनोट गर्ने निणर्य गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले दिएको जानकारी अनुसार पर्वत कारागारमा रहेका कैदी बन्दीका लागि कारागार परिसर भित्रै र अन्य व्यक्तिहरुका लागि जिल्ला समन्वय समितिको परिसरमा गर्ने निणर्य गरेको हो ।
जिल्ला कारागारमा पर्वतमा १ सय १ पुरुष र ४ महिला कैदीबन्दी गरी १०५ जना रहेका छन् । कैदी बन्दी सहित जिल्ला भरी १ हजार ६ सय ७० अस्थायी मतदाता रहेको समितिले निष्कर्ष निकालेको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा समानुपातिक तर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदाताले अन्य मतपत्रमा भने मतदान गर्न नपाउने मतदाता नामावली ऐन २०७३ को दफा ३० मा व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो ।







