पर्वत, २३ असोज
देश भर जस्तै पर्वतमा पनि आइतबार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मनोनयन दर्ता प्रक्रिया उल्लासजनक रुपमा सम्पन्न भएको छ । एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको पर्वतमा यस पटक नेकपा एमाले र नेपाली कांग्रेस सहितको माओवादी केन्द्र गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
जस अनुसार नेकपा एमालेबाट पदम गिरीले प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुन जोशीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ तर्फ एमालेका भक्त कुँवर र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुदिप कुँवर बीच प्रतिस्पर्धा हुने भएको छ भने प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ तर्फ नेकपा एमालेका मित्रलाल बस्याल र नेपाली कांग्रेसका ऋषिकेश तिवारी बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

पर्वतमा आइतबार सम्पन्न मनोनयन दर्ताका क्रममा विभिन्न ९ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य, ५ राजनीतिक दलले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र विभिन्न ४ राजनीतिक दलले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार तय गरेका छन् । प्रतिनिधि सभा सदस्य तर्फ ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
ठुला दलबाट नै आचारसंहिता उल्लंघन
मनोनयन दर्ताका क्रममा निर्वाचन आयोगले आचारसंहितालाई विशेष ध्यान पुर्याउन र उल्लंघन नगर्न स्थानीय राजनीतिक दल, सुरक्षा निकाय तथा अन्य विभिन्न निकायलाई अनुरोध गरेपनि राजनीतिक दलबाट नै आचारसंहिताको उल्लंघन भएको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा राजनीतिक दलहरुले मनोनयन दर्ताका क्रममा २५ जना भन्दा बढीको जुलुस प्रदर्शन गर्न नहुने र झण्डा व्यानरहरु प्रदर्शन गर्न नहुने उल्लेख गरेको भएपनि पर्वतमा ठूला राजनीतिक दलहरुले नै त्यसको उल्लंघन गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस माओवादी सहितको गठबन्धनको समुहले छुट्टाछुट्टै जुलुसमा मोटरसाइकल र्याली सहित झण्डा, व्यानर लिएर मनोनयन दर्ताका क्रममा पुगेका थिए ।
मनोनयन दर्ता स्थलका रुपमा तोकिएको पर्वत जिल्ला अदालतको प्राङगण नजिकै पुगेपछि सुरक्षाकर्मीको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जुलुस प्रबेशमा रोक लगाएको थियो । मुख्य निर्वाचन अधिकृत आनन्द प्रसाद श्रेष्ठले राजनीतिक दलहरुले निर्वाचन आचरणको पालना गर्न विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिएको भएपनि पूणर् रुपमा पालना नगरेको बताउनुभयो । उहाँले मनोनयन दर्ता स्थलमा भने राजनीतिक दल र उम्मेदवारहरु सौहार्दपूणर् वातावरणमा प्रबेश गरेर मनोनयन दर्ता गराएको बताउनुभयो । अन्य साना राजनीतिक दलहरुले भने आचारसंहितालाई पालना गर्दै मनोनयन दर्ता प्रक्रियामा सहभागिता जनाएका थिए । पर्वतमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सुशासन पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस विपी र हाम्रो नेपाली पार्टीले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयको नयाँ अभ्यास, मनोनयन दर्ता प्रक्रियाको लाइभ ब्रोडकाष्ट
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले सुचना सम्प्रेषणका लागि नयाँ अभ्यासको थालनी गरेको छ ।
कार्यालयले मनोनयन दर्ता प्रक्रियाका हरेक क्रियाकलापहरु सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले विशेष गरी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई खबर आदान प्रदानका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्य गरिएको बताउनुभयो । अन्य गतिविधिहरु पनि सामाजिक सञ्जालमा प्रत्यक्ष रुपमा सार्वजनिक गरिने शर्माले बताउनुभयो ।









