पर्वत, २२ असोज
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुसँग सर्वदलीय तथा सर्वपक्षीय छ्लफल कार्यक्रम पर्वतमा असोज २२ गते आयोजना गरेको छ ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सरकारी गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहितालाई सवै क्षेत्र र निकायमा आबद्ध व्यक्तिहरुले अक्षरांश पालना गर्नुपर्ने बताउनुभयो ।
दलहरू प्रचारप्रसारमा जानू अगावै दलहरूलाई आचारसंहिताका बारेमा जानकारी र सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो । ०७९ असोज १२ गतेदेखि आचारसंहिता लागु भइसकेको र यो अवधिमा चुनाब चिन्ह राखिएका टिसर्ट, टोपी र स्टिकरहरु प्रयोग गरेको पाईएमा नियम अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले निर्वाचनका क्रियाकलाप र आचारसंहिताका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट उपसचिव शिव पौडेल, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति युवराज जोशी लगायत अन्य विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले आचारसंहिता पालनामा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले असोज २३ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि विहान १० बजेदेखि ५ बजे सम्मका लागि मनोनयन दर्ताको समयावधि तोकेको छ । यस पटकको निर्वाचनमा निर्वाचन आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ ।









