पर्वत, २५ साउन
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा बृक्षारोपण कार्यक्रमको आयोजना गरी ४९ औं भू संरक्षण दिवस तथा ७ औं सामुदायिक वन दिवस मनाइएको छ । भु-तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतको संयुक्त आयोजनामा बृक्षारोपण गरी दिवस मनाइएको हो ।

एक स्थानीय तह एक औद्योगिक ग्राम नजिकै रहेको पहुँच सडकको छेउ तथा भित्तामा ओशाका, म्याङगोस्टिक लगायत विभिन्न प्रकारका विरुवाहरु रोपण गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले रुख विरुवाका कारण धेरै जसो स्थानहरुमा भू क्षय हुन बाट जोगिएको उदाहरण दिँदै बृक्षारोपण गरेर मात्रै नभएर त्यसको संरक्षणमा पनि ध्यान दिन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले जल जमिन र जंगलको संरक्षण भएर प्राकृतिक स्रोतको संरक्षण हुन सकेमा जुन सुकै प्राणीलाई पनि बाँच्न र बचाउन सकिने बताउनुभयो ।

एकिकृत जलाधार व्यवस्थापन? माटो र पानीको स्याहार, समृद्धिको मूल आधार, सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमममा डिभिजन बन कार्यालय पर्वतका प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनको महत्वको बारेमा प्रष्टाउनुभएको थियो । साथै अधिकारीले दिवसको सन्दर्भमा पनि जानकारी दिनुभएको थियो ।
भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले ४९ औं भू संरक्षण दिवसको अवसरमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष खगराज पौडेलले स्वागत गर्नुभएको थियो भने नेपाने सामुदायिक वन समुहका अध्यक्ष हेमराज सुवेदीले कार्यक्रमको समापन गर्नुभएको थियो ।









