पर्वत, १० फागुन
अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा पर्वतको जलजला गाउँपालिका र पैञ्यु गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पर्वतबाट बैदेशिक रोजगारीका लागि मुलुक बाहिर रहेका पर्वतेलीहरु एकिकृत बनेर गठन भएको समाजले फागुन १४ र १५ गते शिविरको आयोजना गरेको हो ।
समाजका महासचिव मणी भुर्तेलका अनुसार स्थानीय तहहरुको व्यवस्थापकीय सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । फागुन १४ गते जलजला गाउँपालिकाको मिलनचोक स्वास्थ्य संस्थामा शिविर सञ्चालन हुने भएको छ भने फागुन १५ गते पैञ्यु गाउँपालिकाको जनसेवा संस्कृत माविमा शिविर सञ्चालन हुने भएको छ ।
महिला रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ र जनरल चिकित्सक सहितका विशेषज्ञ चिकित्सकहरुको सहभागिता हुने शिविरमा बढी भन्दा बढी सम्बन्धित रोगका विरामीहरुलाई सहभागी गराउनका लागि स्थानीय तह सँगै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुलाई समेत जानकारी गराइएको समाजका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो । उहाँले निशुल्क शिविरमा सेवा लिनका लागि सवै सर्वसाधरणलाई आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वत, पर्वत अस्पताल, स्थानीय तह लगायत सँग शिविर सञ्चालनका लागि आवश्यक छलफल र सहकार्य भइरहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । अन्तराष्ट्रिय पर्वत समाजले यस अघि पर्वत कोभिड १९ को महामारीको बेला पर्वतमा उपकरण सहयोग सँगै विभिन्न गतिविधिहरु सञ्चालन गरिसकेको छ ।
शिविरलाई व्यवस्थित र सवैको पहुँचमा सुचना पुग्ने गरी समाजले नेपाल पत्रकार महासंघ पर्वत, अस्पताल, पर्वत जिल्लाका सवै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय पर्वत, समाज मातहतका विभिन्न मुलुकमा रहेका पर्वत समाज सँग समन्वय गरिएको महासचिव भुर्तेलले जानकारी दिनुभयो ।









