पर्वत, १ भदौ
सरकारले ‘स्मार्ट लकडाउन’ को कार्यविधि पास गरे सँगै पर्वतमा पनि लकडाउनको विषयमा छलफल भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र पर्वतले उक्त कार्यविधि उपर छलफल गरी जिल्लाको वर्तमान अवस्थाका बारेमा समिक्षा गरेको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा बसेको बैठकले जिल्लाको वर्तमान अवस्था र स्मार्ट लकडाउन कार्यविधि २०७८ उपर छलफल भएको हो । छलफलका क्रममा स्वास्थ्य कार्यालय पर्वतले जिल्लाको पछिल्लो कोभिड १९ को अवस्थाबारे जानकारी गराएको थियो । जानकारीका क्रममा मंगलबार सम्म ३ सय ४ जना सक्रिय संक्रमित रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
उक्त तथ्याङ्क हेर्दा स्मार्ट लकडाउनको कार्यविधि अनुसार ‘हार्ड लकडाउन’ (निषेधाज्ञालाई कडाई’ गर्नुपर्ने अवस्था भएपनि तत्काल हार्ड लकडाउन जारी गर्ने अवस्था नभएको बताउँदै जिल्लामा संक्रमितहरुको दर यहि अवस्थामा बढ्दै जाने र सर्वसाधरणहरुले समेत स्वास्थ्य मापदण्डका सुचकहरुलाई पालना नगर्ने हो भने एक हप्ता पछि हार्ड लकडाउन गर्नुपर्ने अवस्था रहने निष्कर्ष निकालेको छ ।
बैठकका क्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले सर्वसाधरणहरु स्वास्थ्य सतर्कता सम्बन्धि संवेदनशील नरहेको बताउँदै बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने र ग्रामीण क्षेत्रमा पिसिआर तथा एन्टिजेन परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभएको थियो । कतिपय नागरिकहरु स्वास्थ्यमा कोभिड १९ को लक्षण देखिएपनि परीक्षण गराउन आनाकानी गरेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्था बढी जिम्मेवार बनेर लाग्नुपर्ने उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी खत्रीले सर्वसाधरणहरुले कोभिड १९ को संक्रमण र आफ्नो स्वास्थ प्रति हेलचक्राइ गरेको बताउँदै हार्ड लकडाउन गर्नुपर्ने अवस्था सिर्जना नगर्न जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको छ । ‘जहाँ संक्रमण बढी छ, त्यो ठाउँ शिल गर्नुपर्ने अवस्था आउन सक्छ’, उहाँले भन्नुभयो ‘स्वास्थ्य मापदण्ड पालना गरेर हरेक दैनिक क्रियाकलापहरु सञ्चालन गर्न जिल्लाबासीलाई अनुरोध छ’









