पर्वत, ९ असार
पछिल्लो समय संक्रमण दर न्यून हुँदै गएपछि निषेधाज्ञा खुकुलो बनाएकै कारण पर्वतमा पुन ः संक्रमणको दर बढेको छ । पर्वतमा करिव एक साताको समयसम्म दैनिक ८ देखि १० जनामा मात्रै संक्रमण पुष्टि हुने गरेको भएपनि बुधबार मात्रै पर्वतको पैञ्यु गाउँपालिकामा एकै गाउँका २० जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार पर्वतमा पैञ्यु गाउँपालिका सहित अन्य स्थानमा गरि ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति पर्वतले असार ८ गतेदेखि एक सातासम्म लागु हुने गरी निषेधाज्ञालाई केही खुकुलो बनाएको थियो । निषेधाज्ञा खुकुलो बनाएसँगै सर्वसाधरणहरु स्वास्थ्यको ख्यान नगरी स्वास्थ्य मापदण्ड नपप्नाएकै कारण समस्या हुने देखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड व्यवस्थापन समिति संयोजक देवी पाण्डे खत्रीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार पर्वतमा एन्टिजेन परिक्षणको दायरा बढाइएको छ । स्थानीय तहहरुले आवश्यक मात्रामा एन्जिटेन परिक्षण गरिरहेको भण्डारीले बताउनुभयो । पछिल्लो समयमा खुकुलो बनाएकै कारण संक्रमण दर पनि बढेको देखिएको उहाँले बताउनुभयो । हाल सम्म पर्वतमा १ हजार ६ सय ७८ जना संक्रमित भइसकेका छन् भने १ हजार ४ सय ७३ जनामा संक्रमण निको भएको छ । हाल १ सय ८३ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
लकडाउन खुकुलो सँगै सर्वसाधरणहरु स्वास्थ्य मापदण्डमा ख्याल नगर्ने हो भने संक्रमणको दर बढ्ने देखिएको पर्वत अस्पतालका प्रमुख ढुण्डिराज पौडेलले बताउनुभयो ।







