पर्वत, २१ मंसिर
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई जोगाउनका लागि नेकपा एमाले तयार रहेको बताउनुभएको छ । वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत ८ औं दिन पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहद जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुक चौतर्फि संकटमा पर्दै गएको भएपनि अहिलेको गठवन्धन सरकार गैरजिम्मेवार बनेको बताउनुभयो ।
वर्तमान सरकार प्रति आक्रोस व्यक्त गर्दै अध्यक्ष ओलीले विकास निर्माण र पुर्वाधारको क्षेत्रमा सरकारले थप कदम चाल्नुपर्ने बताउनुभयो । मध्यपहाडी लोकमार्गको यात्रामा रहनुभएका अध्यक्ष ओलीले वर्तमान् सरकार बनेपछि एक इन्चपनि सडक बनाउन नसकेको बताउँदै न विकास निर्माण गर्छ, न उद्योग कलकारखाना खोल्छ, उल्टै पुराना उद्योगहरु समेत बन्द गर्न थालेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले नेपालको हितको निम्ति जो सुकैसँग सहयोग लिन एमाले सफल रहेको बताउँदै अहिलेको सरकार कसैसँग पनि सहयोग लिन नसक्ने बताउनुभयो । उहाँले चीनसँगको बिआरआई परियोजना समेत अलपत्र पारेको गुनासो गर्नुभयो । उहाँले जनताको पिडा यो सरकारले देख्न नसकेको बताउँदै भुकम्प पिडितले एक महिना वितिसक्दा समेत राहत नपाउनु दुःखद विषय भएको बताउनुभयो ।
दार्चुलाबाट शुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ अभियान अन्तर्गत ओलीले मंसिर २२ गते गण्डकी प्रदेशकै लमजुङमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








