पर्वत, ०८० मंसिर २४ गते
शिवालय विवेकशिल नारी समुह पर्वतको आयोजनामा पर्वतको कुश्मा बजारमा २० दिने योग शिविर सञ्चालन भएको छ । कुश्मा बजारको शिवालयचोक घर भई हाल अमेरिकामा रहेकी मोनिका क्षेत्रीको विशेष पहलमा तथा यूएस एम्बेसी नेपालको सहयोगमा योगाभ्यास शिविर सञ्चालन हुन लागेको हो ।
मंसिर २३ गते देखि पुस १३ गते सम्म सञ्चालन हुने शिविरको शनिबार कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका अवसरमा बोल्दै महिलाहरु सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिँदै योगाभ्यासले थप आन्तरिक तनाब व्यवस्थापनमा सहयोग पुर्याई महिलालाई अझै शसक्तिकरणको मार्गमा डोर्याउने अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रिजालले अन्य थप सहयोगका लागि आवश्यक परेमा नगरपालिका सदैव साथमा रहेको विश्वास समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष इश्वर गिरीले शुभकामना व्यक्त गर्दै योगाभ्यास व्यवस्थापनमा वडाको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
अमेरिकामा रहेकी मोनिका क्षेत्री मोटिभेसनल तालिम मार्फत एसभीपी सदस्य रहेको र उई यूनाइटेड सँगको समेत समन्वयमा १ हजार डलर बराबरको सहयोग प्राप्त भएपछि उक्त शिविर सञ्चालन भएको सहयोगदाता मोनिका क्षेत्रीकी आमा चन्द्रा क्षेत्रीले बताउनुभयो । शिवालय विवेकशिल नारी समुहकी अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रिता पौडेलले गर्नुभएको थियो । शिविरमा विशेषगरी समुहका सदस्यहरुलाई प्राथमिकता दिएर सहभागिता गराइने अध्यक्ष गिरीले बताउनुभयो ।









