लकास सुवेदी
बि. स २०१३ साल देखि सुरु भएको योजनाबद्ध विकास प्रक्रिया, भौगोलिक अवस्थिति र ६५ % ग्रामिण जनता कृषि मै आधारित भएका कारण सरकार तथा योजना बिधहरुको बिचारमा नेपालको रुपान्तरण कृषिबाट नै संभव हुन्छ भन्ने स्पस्ट देखिन्छ | तर नेपालको विकासमा विगतका १४ वटा आवधिक योजनाहरुले कृषि क्षेत्रलाई प्रार्थमिकीकरणमा अग्रस्थान दिएतापनि उद्धेस्योन्मुख प्रतिफल अर्थात् उपलब्धि हासिल गर्न सकिएको छैन | कृषि विकास मंत्रालय, विभाग, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, विकास साझेदारहरु, सरकारी, गैर सरकारी एबं निजी कृषि विकासकर्मीहरुलाई आफ्नो लक्ष्य अनुरुपको प्रगति नहुनुका कारणहरुको जानकारी नै नहुनु,अथवा जानकारी भएर पनि सम्बोधन अर्थात् व्यवस्थापन गर्न नसक्नु लापर्वाई हो |यस्तो उद्धेस्य प्रतिकुल परिणाम देखा पर्नुलाई ध्यान नपुर्याएको र बेवास्था गरेको भन्नु पर्दछ | कृषि प्रधान देशमा कृषिको राष्ट्रिय ग्राहस्थ उत्पादन (जिडिपी)मा नगन्य योगदान जम्मा ३१.७ % मात्रै रहेको छ | कृषि उत्पादनको आन्तरिक खपत र निर्यातको प्रचुर बजारसम्भावना भएको मुलुक आज युवाशक्ति विदेश पलायन गराएर विप्रेषणले चल्नु परेको छ | यो विसंगति र बिकृति किन भै रहेको छ ?खोजको बिषय छ |
कृषिको व्यावसायिक उत्पादन, बजारीकरण र नेपाली श्रमको सहि अध्ययन र विश्लेषण गर्न नसक्नु नै यसको प्रमुख कारण हो | यो स्थिति कहिले सम्म ? अब समय धेरै टाढा छैन, नेपाल र नेपालीको सम्वृद्धि कृषिबाटै संभव छ | जलश्रोत र पर्यटन विकास मात्रै होइन कृषिको पर्यटकीय विविधीकरण गर्दै केहि व्यवस्थापकीय सुधारबाट संवृद्धिको बाटोमा पाइला अगाडी बढाउन सकिन्छ | यहि प्रसंगमा आज सानो उदाहरण, कृषि-पर्यटन विकासका केहि आयाम र सम्भावनाहरु बारे छोटो चर्चा गरौँ |
प्रचुर संभावना बोकेको नेपालको पर्यटन क्षेत्रको योगदान जिडिपीमा मुस्किलले ४ % छ | ६५ % कृषिमा आधारित नेपाली, रोजगारबाट ३१. ७ % र बैदेशिक रोजगार एबं विप्रेषणबाट प्राप्त हुने २९. ११ % योगदानले धानेको अर्थनीति र गाउँघरको खर्चो-पर्चो गुजाराले हामी आत्मनिर्भर कहिले हुने ? त्यसैले छोटो समय तथा कम लगानीमा गाउँ घरमा बसेर सहज तरिकाले गर्न सकिने राम्रो आम्दानि र आर्थिक रुपान्तरणको माध्यम हो कृषि-पर्यटन | कृषि-पर्यटन व्यवसायले स्थानीय रुपमा नै रोजगारी सिर्जना गर्दछ , स्थानीय श्रोत साधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्दछ | कृषि- पर्यटनको विकासले युवा शक्ति बिदेशिनुबाट धेरै हद सम्म रोक्दछ | कृषि -पर्यटन एक स्थाई रणनीति हुन सक्दछ |
कृषि-पर्यटनका आयामहरु धेरै छन् | नेपालमा नेपालको भूसंरचना र हावापानी समुद्री सतहबाट ६० देखि ८८४८ मिटर उचाई सम्म रहेकाले संसारभरका सबै देश तथा भागमा उत्पादन हुने सबै प्रकारका कृषि तथा पशुपालन संभव छ | उत्तर र दक्षिणका मित्रराष्ट्रहरुमा हाम्रो उत्पादनले राम्रो बजार पाउन सक्छ |राजनैतिक झगडा र अस्थिर सरकारको समस्या समाधान भै सकेको छ | लगानी मैत्री वातावरण बन्दै छ, बिदेशमा भन्दा स्वदेशमा युवा शक्ति र बैज्ञानिकहरुको अवसर धेरै छन | सिर्फ मानवीय पुंजीको विकास, नयाँ विकासका गतिविधिहरु – जन चेतना र व्यवस्थापनमा ध्यान दिनु पर्ने आवस्यकता छ | हामीलाई लाग्छ जाँगर छ, आँट छैन | उत्पादन हुन्छ, बजार यहाँ छैन | श्रमशक्ति छ,रोजगारीमुलक व्यवासय छैन | पैशा छ, उद्यमशील शिप छैन | यस्ता समस्याहरुको समाधान तर्फ, योजनाविद तथा विकसकर्मीहरु अनभिज्ञ देखिन्छन | अव यो क्रम र भ्रम भंग हुने छ र संवृद्धि र सुखी जीवन यापन तर्फ नेपाल र नेपाली प्रस्थान गर्ने छन् |
बिगतमा कृषि क्षेत्रमा स्वदेशी तथा बिदेशी धेरै प्रयासहरु भए | ब्रिटिश सरकारको प्रयासमा लुम्ले कास्की र पाख्रिवास धनकुटा, जर्मन सहयोगबाट खैरेनीटार तनहुँ, इज्राइलबाट नवलपरासी र बाँकेमा कृषि विकास तथा पशुपालनका प्रयासहरु भएका थिए | साप्रोस नेपाल, सिप्रेट, नार्क आदि अनुसन्धान तथा प्रवर्द्धन गर्ने निकायहरु व्यापक ढंगले संलग्न थिए | ठाउँ ठाउँमा खोलिएका बालीनाली तथा पशु विकास फर्महरु तथा मत्स्य पालन केन्द्रहरुले नमुना देखाए, खुलाए तर व्यवासय गर्न र बजारीकरणको ज्ञान सिकाउन सफल भएनन् | समस्याहरुमा चेतना, को अभाव कृषि-व्यवसायीकरण, विविधीकरण र बजारीकरण देखा परे | आज निजी क्षेत्र वा व्यक्तिबिशेसको अगुवाईमा सहकारी, निजी उद्धम व्यवसायले यो क्षेत्रको आवस्यकतालाई बुझ्न थालेको छ र अगाडी ल्याएको छ | सरकारले यिनै व्यवसायीहरुको समस्या बुझ्दै, लगानी प्रोत्साहन, बजार व्यवस्थापन, बिचौलिया नियन्त्रण गरि गुणस्तर उत्पादनमा ध्यान पुर्याई दिए निर्वाद रुपमा संवृद्धिको मार्ग अघि बढ्ने छ | सरकार श्रम शक्ति विदेश पठाउन मित्र राष्ट्रहरुसंग श्रम संझौता गर्दछ तर विदेशमा शिप, शिक्षा र अनुभव हासिल गरेको श्रमशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने वातावरण र कार्यक्रम गर्दैन | हाल सम्म श्रम मन्त्रालयमा कति युवा शक्ति के – के काम गरेर स्वदेश फर्केका छन्, उनीहरुलाई के कस्तो सहयोगको वातावरण सिर्जना गर्यो भने नेपालमै स्व रोजगार गर्न सक्दछन भन्ने रेकर्ड छैन र खासै उत्साहित हुने किसिमका नीति तथा कार्यक्रम पनि छैन | यद्धपि विदेशबाट फर्केका युवाशक्तिले स्वत: स्फुर्त नयाँ उद्धोग व्यवसाय सुरु गर्न थालेका छन् | त्यसैले यसै क्रममा सरकारले लगानी वातावरण बनाइदिने उत्तर दक्षिणको बजारमा निर्यात हुने गुणस्तरीय उत्पादन गराउने र बजार व्यवस्थापन गरि दिने अवसरको खोजि तथा योजना निर्माणमा पहल गर्नु आवस्यक छ | हाम्रा उत्पादन पर्यटकलाई आकर्षण गर्ने गुणस्तरीय हुनु अत्यन्त आवस्यक छ |
नेपालमा कृषि-पर्यटनले केहि मौलिक उत्पादनहरु गर्न थालेको छ | भक्तपुरको जुजु धौले चिनिया,पर्यटक रानीपौवा ककनी नुवाकोट र भुजुंगखोला पोखराले ट्राउट माछा खाने आन्तरिक, पर्यटक थकाली भान्छा र नेवारी खाजाले स्वदेशी तथा विदेशी,पाहुना कालु हमाल कैलाली टिकापुरको केराका झन्डै ४० थरि व्यंजनले अन्तरिक, साँगाको लप्सीको माडा, तथा दक्षिणकालिको खुवाले आन्तरिक पर्यटनको राम्रो विकास गर्न थालेको छ | स्वदेशको केरा, र माछाको उत्पादनले न भ्याएर भारतको आन्ध्र प्रदेश, महाराष्ट्रका माछा र केरालाई जनकपुर्, कोशी, मलेखु, चिसापानी कर्णालीका माछा भनेर पाहुनालाई खुवाउनु परेको छ | धरान, झापा, स्यांग्जा, कास्कीको बंगुर उत्पादन, पहाडी र हिमाली जिल्लाका सुन्तला र स्याउले आन्तरिक माग पुरा गर्न नसकी चिन र भारतबाट आयात गर्नु परेको छ | चीनमा २ लाख पर्ने चौरी हाम्रो सीमामा क्वारेन्टाइनको अभावले ६० / ७० हजारमा नेपालमा बिकेको छैन | हुम्ली डोल्पाली जनताहरु जो चौंरी, याक, घोडा, खच्चर आदिलाई ढुवानीको साधान बनाउँथे, अव ट्रक जिप यातायातको सुबिधा पुगे पछि ती परंपरागत साधनहरु प्रयोग बिहिन हुँदै छन् | यस्ता बस्तुहरु छिमेकी राष्ट्र चीनमा राम्रो दर भाउमा बिक्रि हुन्छन |
रोल्पाको किसानले उत्पादन गरेको ट्रो– फल,डोल्पा र जुम्लाको केसर स्फुफल र गुच्ची च्याउ, यार्चागुम्बा, दोलखा र ललितपुरका किवी उत्पादन, सित्तैं बनबाट गेडा जम्मा पारेको चिउरीको घिउ अहिले पनि लाखौँ रुपैंयामा रोल्पा तथा दैलेखका मानिस युरोप तिर निर्यात गर्दछन् | करेशाबारीमा उत्पादन हुन थालेको एभोगाडको महत्व र प्रयोग आदि बारे कति मूल्य पर्ने हुन्छ | ति बस्तुहरुको अन्तर्राष्ट्रिय बजार मूल्य के छ ९९ % हामी नेपालीलाई थाहा छैन |
पर्यटन व्यवसाय भनेको मानवीय ५ (पाँच) ज्ञानेद्रियको कलात्मक आकर्षण हो | यो निजी क्षेत्र व्यक्ति वा समुदायले संचालन गर्ने उद्ध्यम ब्यबसाय हो| आकर्षण के मा ? आँखा, कान, जिब्रो,छाला र बास्नामा हुन्छ पर्यटकीय बस्तु सुलभ, सहज, सस्तो, मिठो र सन्तुस्टी पुर्याउने हुनुपर्यो | त्यसमा पाहुना अथितित्यकला, अधिकतम सन्तुष्टि र चिर अविस्मरणीय मनमोहक हुनु आवश्यक छ|
केरा प्राय संसारभरी खाइन्छ, तर यसका विभिन्न परिकार बनाएर खान सकिन्छ |केराका ४ दर्जन परिकार, थाम , रेशा, र बुंगोबाट सहित विभिन्न परिकार बन्दछन | आलु तरकारी वा अचार मात्र बनाएर खाइन्छ |आलुबाट थप ५० % नाफा कमाउने लेज, चिप्स, फ्रेन्च फ्राई, बनाएर खुवाउने र निर्यात गर्ने परिकार बनाउनु पर्यो | भैसीको मासु (बफ), झोल (डयगु), वाला वा फ्राइड ड्राई (सुकुटी) गरी खाइन्छ तर यस्ता बस्तुहरुको विकास, विविधीकरण(२२ थरि नेवारी परिकार ) र प्रवर्धन गर्नु पर्यो | प्रवर्धन र प्रोसेस गर्न प्रबिधि, ज्ञान, शिप, पुंजी, कौसलता हुनु पर्यो |
भारतको दालजन्य पदर्थबाट उत्पादित हल्दिरम भुजिया(बिकिनरब्राण्डबाट)ले बिश्वमा धमाका (बजरिकरण) मच्चाएको छ| चौधरी ग्रुपको वाईवाई चाउचाउले आन्तरीक र अन्तर्राष्ट्रिय बजार पाएको छ | दोलालघाट, मलेखु लगाएत कर्णाली चिसापानीमा समेत भारतीय माछाले स्थान पाएका छन् तर स्थानीय उत्पादनको प्रवर्दन गर्न सकिएको छैन |हाम्रा ६ हजार खोला नाला मा त्युना ट्राउट प्राउन र राजबाम उत्पादन लाई प्रबदन किन नगर्ने ? आन्तरिक पर्यटकले भ्रमित स्वाद लिनु परेको छ | व्यवसायीले बदेल भनेर कालो सुँगुर, धराने कालो बंगुर भनेर सेतो बंगुर मिसाएर पाहुना आकर्षण गर्ने गरेका छन्|
आफ्नो कला र कौसल, भेष र भुषा, परम्परा सास्कृतिकले थारु होमस्टेहरुमा पर्यटकको घुइचो लाग्ने गरेको छ | दालभात, साग, मासु र अचार प्राय: सबैको भान्छामा पाक्ने गर्छ तर थकालीको आतिथ्यकला र गलाले मोह( आकर्षण) किन गराउछ ? बुझ्नु पर्दछ | ललितपुर च्यासलको २२ थरीको राँगाका परिकारका व्यंजन, होनाचाको पिरो आलु र छ्यांग, धोबिघाट श्याम दाईको हासको छोइला पसल कृषिमा आधारित हुनु पर्यो |तेहा एउटा भट्टी पसल झैँ कृषि मा आधारित हाम्रो पर्यटन व्यसाय त्यहाँ एउटा भट्टी खुले पछीहाल कतिओटा छेउछाउमा पसल खुले? त्याहाँ खान पान गर्नेलाई थाहा होला| नारायणघाटको भेटघाटको तास (खसीको मासुको आइटम) आज काठमाडौंमा साम्राज्य फैलाउदै छ | सबैले चितवनको तास भनेर खानु परेको छ|अन्य त्यस खाले प्रडक्ट्स र गन्तव्यहरुको बर्णन कति गरौ? एउटा ध्यान आकर्षणका निम्ति निर्माता र पर्यटक (खास गरी कृषि पर्यटन ) उद्ध्यम ब्यबसायीहरुलाई गराउनु पर्यो त्यो हो गुच्ची च्याउ लगायत अन्य च्याउका परिकार, केसर, ट्रोफल, साफ्रुन, झापाको अबरुटर एबोगाड ब्रोएइलर् को दाना र कति ओटा परिकार बन्ला ? तिनीहरुको प्रोसेसिंग र आइटम बिबिधीकरण, बजारीकरण गरी गाउँघर, दुर दराजका पर्यटक गन्तव्य स्थलहरुमा पर्यटक /पाहुनाहरुलाई पस्किए कति खुसि पार्न सकिएला ? खचरले खाने मकै कतै बिक्न नसकेको अवस्थामा पपकर्न, कर्न्फ्लेक्स, कर्नफोर, कोदोको तोम्बा केक/ पाई बन्ने घरेलु उत्पादनलाई आधुनिकीकरण गरेर प्रवर्धन गर्नु जरुरि छ |
हामी स्थानीय उत्पादन लत्याएर निम्नकोटीको चाउचाउ, अमेरिकाको मुरली मकै (न्यु रोडको मानन्धरको पप्कन ) आयात गर्नु पर्ने दुखलाग्दो अवस्थामा छौं | नर्थ फ्रेस टाँसेर चीनबाट आयात गरेको गर्मेंट्स भन्दा राम्रो बलियो नेपाल मै बन्न थालेका छन् त| यसको प्रवर्धन किन नगर्ने ?
पर्यटन विकासमा खास गरी कृषि पर्यटन बारे हामीले हाम्रा राम्रा नेपाली पहिचान युक्त प्रचलन र व्यवहारका शिप, ज्ञान , शिक्षा र त्यसमा थप प्रविधिलाई अंगिकार गर्न सकेका छैनौ| हामी धेरै ठुला गफ र भाषण दिन्छौ, आफुसंग भएको श्रोत साधनलाई ( मानब पूँजी तथा कच्चा पदर्थ ) प्रयोग गरि उत्पादन गर्दैनौं |एक रातमा अनेक तन्तुबाट करोडपति बन्ने इच्छा र चाहना राख्दछौं | छेपारोको जस्तो दिवा सपना देख्छौ | अराजकता र दण्डहीनताको फाइदाबाट मुक्त भएका राजनीति कर्मिको अनुकरण गर्न चाहन्छौ तर दिगो र सरलबाटोबाट स्वल्म्बनको मार्ग अपनाउँदैनौ | विदेशको डलर भन्दा स्वदेशको रुपैयाँको महत्व बुझ्दैनौ | त्यसैले हाम्रो सोच, व्यवहार र काम गर्ने तौर तरिकामा आमुल परिवर्तन आउनु आबस्यक छ | हरेक नेपालीले आफ्नो गाउँघरको स्थानीय श्रोत, राष्ट्रको श्रोत र साधनबाट संवृद्धि, शान्ति, र सुख सम्भब छ भन्ने तर्क प्रस्तुत गर्दै सकरात्मक सोच र खोज तर्फ लागौं | नेपालको कृषि पर्यटनको आयाम र क्षेत्रमा ब्यवसाय र बजार अथाहा छ | उपयुक्त बतावाणको सिर्जना गर्ने काम सरकारको र उद्ध्यम ब्यबसाय संचालन गर्ने काम निजी क्षेत्रको हो | त्यसैले निजी र सरकारी क्षेत्र मिलेर, नयाँ शिराबाट कृषि र पर्यटन मिलाएर कृषिपर्यटनको विकासवाट नै देशको संवृद्धि सम्भब छ | कृषि-पर्यटनबाट नै नेपालको रुपन्तरण सम्भव छ |







