
शिवलाल सार्की
कुश्मा नगरपालिकाको आ.व. २०८०/८१ को नगरसभा समयमा सम्पन्न हुन नसक्दा २०८० श्रावण १ गतेबाट राजस्व संकलन लगाएत नगरबासीले लिने दैनिक सेवासुबिधामा असर परेको समाचार आईरहेका छन् । यो अवस्था आउनु समग्र नगरबासीहरुका लागि दुःखद कुरा हो । यो अवस्था आउनुमा नगरपालिकाको जनप्रतिनिधिको हैसियतले धेरै थोरै जिम्मेवार म आफु पनि बन्नुपर्छ भन्ने मलाई लाग्छ तर हाम्रो नगरपालिकाको उद्धेश्य ‘समृद्ध सुन्दर कुश्मा नगर’ पूरा गर्न केही ठोस योजना बनाउनेतर्फ लाग्न जरुरी देखिन्छ ।
कुश्मा नगरपालिका भनेको त साबिकको कुश्मा मात्रै नभएर पुर्वमा आर्थर डाँडाखर्कको राहाले बगालथोक देखि पश्चिममा पाङको दमुवा खोला उत्तरमा दुर्लुङको भुजेलथान बुकेनी र दक्षिणमा मोदीबेणीधाम हो तर नगरपालिकाले समग्रमा योजना तर्जुमा गर्दा यसलाई ध्यान दिएको देखिदैन । जस्तै संघीय सरकारको सघन शहरी बिकास कार्यक्रम अन्तरगत ५३ करोडको योजना बनी टेण्डर प्रक्रियामा जादा मोदीपारीका चारओटा वडा समाबेश नै गरिएन । यसरी समृद्ध सुन्दर कुश्मा नगरको परिकल्पना कसरी साकार हुन सक्छ । हामीले नगरपालिकाको गौरबका योजना के रहेछन् भनी बिगत छ बर्षको अध्ययन गरि हेर्दा केही भेटेनौ । के हामीले बिषयगत बिज्ञहरुसग छलफल गरि गुरुयोजना नबनाउने हो भने त्यसै बन्छ त समृद्ध सुन्दर कुश्मा नगर ? हामी ०७९ जेठ २० गते कार्यपालिका सदस्यको रुपमा पदबाहली गरेका हौ । नगरसभाको प्रक्रिया अध्ययन गर्र्यौँ अध्ययन गर्दा नगरसभाको प्रक्रिया पौष महिनाबाट सुरुवात हुने रहेछ र असार १० मा सकिने रहेछ । असार १० मा त सक्यौँ तर नगरसभाले पारित गरेको योजनाहरु रातो बुक बनेर आउन सकेनन् । आर्थिक बर्ष सकिन लाग्दा पनि योजनाको किताब प्रकाशित हुन सकेन । नगरपालिकाको प्रावधान अनुसार प्रत्येक महिनामा अनिवार्य बैठक बस्नुपर्ने छ तर मुस्किलले एक बर्षमा ६ ओटा बैठक बसियो के बैठक नै नबसी छलफल नै नगरी समृद्ध सुन्दर कुश्मा नगर बन्छ ? गतबर्ष नगरपालिकाले के के योजना सम्पन्न गरे भनी हामीले योजना शाखामा हेर्दा सबै योजना बितरणमुखी र तोकआदेशबाट भएको पायौँ पालिकास्तरमा एउटा पनि गौरब र दीर्घकालीन योजना छैनन् वडामा पनि ३२ लाख देखि ४० लाख सम्मका छन तर सबै बितरणमुखि र तोकआदेशमुखी । हामीले स्वास्थ शाखा, महिला तथा बालबालिका शाखा, कृषि बिकास शाखा, पशु बिकास शाखा ,सहकारी बिकास शाखा र शिक्षा बिकास शाखाको योजना तथा कार्यक्रम पनि हेर्यौ ती शाखाका योजना पनि दीर्घकालीन छैनन् सबै बितरणमुखी छन् । त्यसपछि समग्रनगरको बजेट हेर्दा त पुजिगत बजेट भन्दा चालुबजेट बढी रहेछ । यसरी पुजिगत बजेट भन्दा चालुबजेट धेरै भए पछि समृद्ध सुन्दर कुश्मा नगर कसरी बन्छ ? त्यसकारण समृद्ध सुन्दर कुश्मा नगर बनाउन नगरसभा नगरसभा का लागि मात्रै नभएर समृद्ध सुन्दर कुश्मा नगर बनाउने गरि कुश्मा नगरपालिका भित्रका शहरी पुर्वाधार बिकासका ६ ओटा शीर्षक, आर्थिक बिकास का ३ ओटा शीर्षक ,सामाजिक बिकासका १० ओटा शीर्षक ,राजस्व तथा आर्थिक प्रशासनका २ वटा शीर्षक ,सामान्य प्रशासनका ७ वटा शीर्षक बन ,बाताबरण ,फोहोरमैला तथा विपद ब्यवस्थापन का ४ वटा शीर्षक ,भुमि ब्यवस्थापन तथा भवन नियमनका ३ वटा शीर्षक ,न्याय ,कानुन तथा मानवअधिकार प्रबर्द्धनका ३ वटा शीर्षक र योजना अनुगमन तथा तथ्यांकका ३ वटा शीर्षकमा बुदागत छलफल गरि अल्पकालिन र दीर्घकालीन नीति निर्माण गरौ नगरका गौरबका योजना छनौट गरौ बजेट बितरणमुखि र तोकआदेशमुखि नबनाऔँ समृद्ध सुन्दर कुश्मा नगर बनाउने रोडम्याप तयार गर्नेगरि छलफल गरि नगरसभाको तयारीमा आजै बाट लागौ समृद्ध सुन्दर कुश्मा नगर निर्माण गरौ ।







