पर्वत, १० बैशाख
नेकपा एमाले कुश्मा नगर कमिटीको आयोजनामा पर्वतमा ७४ औं स्थापना दिवस मनाइएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको अवसर पारेर नगर कमिटीले एक दिवसीय कार्यक्रम आयोजना गरेको हो ।
सोही अवसरमा कुश्मा नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले पर्वत कुश्मा नगर कमिटीका अध्यक्ष मिनप्रसाद श्रेष्ठले उक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले पर्वतका सह इञ्चार्ज पदम गिरीले नेकपा एमालेलाई विजयी गराउनका लागि सवै तह र तप्काबाट एक जुट भएर अगाडि बढ्न आग्रह गरेका थिए । कार्यक्रममा गिरीले एमालेको विरुद्धमा अन्य पाँचदलहरु गठबन्धन गरेर अघि बढेको सन्दर्भलाई जोड्दै गठबन्धनको विषयलाई लिएर कत्ति पनि विचलित नहुन आग्रह गरेका थिए । उनले एमालेको पक्षमा समग्र नेपालीको साथ रहेको बताउँदै चुनावी अभियानमा गाउँ गाउँमा जाँदा घर घरमा र प्रत्येक मतदातालाई एमालेले गरेका उपलब्धि र गर्न खोजिरहेका कार्यहरुको बारेमा मसिनो गरी बुझाउन आग्रह गरेका थिए ।
कुश्मा नगरकमिटीका अध्यक्ष मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर कमिटी सचिव गणेश पौडेलले सञ्चालन गरेका थिए भने जिल्ला, प्रदेश कमिटीका सदस्यहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कुश्मा नगरकमिटीले पर्वतको बेरोजगार, स्वास्थ्य, शिक्षा र पुर्वाधारलाई प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । कार्यक्रममा हाल सम्म नगरपालिका भित्र उम्मेदवारी टुङगो लगाउन नसकिएको बताउँदै सर्वसम्मत रुपमा उम्मेदवारी दर्ता गर्ने दिनसम्म टुङगो लगाउने प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।








