पर्वत १० चैत ।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मुल नाराका साथ विश्वभर मनाउँदै गरिएको विश्व क्षयरोग दिवसका अवसरमा पर्वतमा मजदुरहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा मोदी गाउँपालिकाको समन्वयमा पर्वतको निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाका कर्मचारीहरुलाई परीक्षण गरिएको हो । यस अघि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सञ्चालन गरेका शिविरहरुमा मजदुर वर्गमा क्षयरोग संक्रमण दर बढेको देखिकाले मजदुर समक्ष नै पुगेर कार्यक्रम सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा कार्यरत ल्याब टेक्नीसियन मुना सापकोटाले जानकारी दिनुभयो ।
पर्वतमा गत आर्थिक बर्षको तथ्याङ्क अनुसार ६० जना क्षयरोगका विरामीहरु रहेका छन् । क्षयरोगका विरामीहरुले औषधी सेवन गरिरहेको र कोभिडका कारण परीक्षण गराउन आउने विरामी कम भएका कारण स्थलगत रुपमा अभियान सञ्चालन गरिएको सापकोटाले जानकारी दिनुभयो ।
मध्यमोदी जलविद्युत आयोजनाको परिसरमा सञ्चालन भएको उक्त स्क्रिनिङ शिविरमा त्यहाँ कार्यरत ४० जना मजदुर तथा कर्मचारीले परीक्षण गराएका थिए । परीक्षण गरिएका मध्ये झण्डै १० प्रतिशत भन्दा बढी मजदुरहरु संक्रमणको सुचिमा रहेको पाइएको छ । परिणाम आउन झण्डै एक हप्ता लाग्ने भएकाले अहिले नै सवै भन्ने अवस्था नरहेको सापकोटाले जानकारी दिनुभयो ।
सो सँगै स्वास्थ्य कार्यालय पर्वतले मोदी गाउँपाालिकाको सहकार्यमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई समेत क्षयरोग सम्बन्धि सचेतिकरण कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतकी टेक्नीसियन मुना सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।







