पर्वत, २२ चैत
घरेलु तथा साना उद्योग कार्यालय पर्वतको संयोजन तथा खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखराको समन्वयमा पर्वतको कुश्मा बजारमा सञ्चालित उद्योग व्यवसाय अनुगमन गरिएको छ । सोमबार पर्वतको कुश्मा बजारमा सञ्चालित विभिन्न प्रकृतिका सात वटा उद्योग व्यवसायहरुको गुणस्तर परीक्षण सहितको अनुगमन गरिएको हो ।
कार्यालयले जिल्लामा क्रियाशिल नीजि क्षेत्रका व्यवसायका प्रतिनिधि, उपभोक्ताका प्रतिनिधि, सञ्चारकर्मीका प्रतिनिधि, प्रहरीका प्रतिनिधि र खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्राविधिकहरु सहितको उपस्थितिमा अनुगमन सम्पन्न गरेको हो । अनुगमनका क्रममा अधिकांश उद्योगहरुले विशेष गरी उत्पादनका लागि अनुज्ञा पत्र नलिएको पाइएको छ ।
कतिपय उद्योगहरुले खाद्य पदार्थ उत्पादन गरेपनि सरसफाइमा ध्यान नदिएको, उद्योगको पहिचान सहितको लेबलिङ नराखेको र फ्रिजमा तापक्रम व्यवस्थापनमा ध्यान नदिएको पाइएको हो । घरेलु तथा साना उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले व्यवसायीहरुलाई नेपाल सरकारले निर्देश गरेका हरेक नियमहरु पूणर् रुपमा पालना गर्न सम्बन्धित उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्नुभएको थियो । अनुगमनका क्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखराका प्राविधिक सहायक पूणर्कला थापाले नियम पालना नगरेका उद्योगी व्यवसायीहरुलाई ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो ।
टोलीले एक डिपार्टमेन्टल स्टोर्स सहित दुई डेरी पसल, तीन वटा होटल व्यवसाय र एक खानेपानी उत्पादन कम्पनीको अनुगमन गरेको थियो । डिपार्टमेन्टल स्टोर्सबाट समग्र कुश्मा बजारलाई लक्षित गरी नमुना संकलन समेत गरिएको थियो । होटल व्यवसाय अनुगमनका क्रममा विशेष गरी सरसफाईमा ध्यान दिन र खानेतेलको उचित रुपमा प्रयोग गर्न अनुरोध गरिएको थियो । कतिपय होटल व्यवसायहरुले दुई देखि तीन दिन सम्म एउटै तेल पटक पटक पकाएर प्रयोग गर्ने पाइएको र त्यसले स्वास्थ्यमा नकरात्मक असर पार्ने सचेतना सहित सुझाव दिइएको गुण नियन्त्रण कार्यालयका प्राविधिक पूणर्कला थापाले जानकारी दिनुभयो ।
पर्वतमा हरेक महिनाको पहिलो सोमबार नियमित अनुगमन हुने
सोमबार घरेलु तथा साना उद्योग कार्यालय पर्वतको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा बसेको अनुगमन टोलीको बैठकले जिल्लामा नियमित अनुगमन गर्ने निणर्य गरेको छ ।
आकस्मिक अनुगमनका क्रममा उद्योगी व्यवसायीहरुले आफुहरुलाई नियम, कानुन र विधिका बारेमा आवश्यक जानकारी नपाएको भन्दै गुनासो गरेपछि सचेतना सहित हरेक महिनाको पहिलो सोमबार बजार अनुगमन गर्ने निणर्य गरेको हो । कार्यालय प्रमुख मुना अधिकारीले नियमित अनुगमनलाई प्रभावकारी तबरबाट सञ्चालन गर्ने र आवश्यकता अनुसार आकस्मिक अनुगमन गर्ने निणर्य भएको जानकारी दिनुभयो ।









