पर्वत, १७ फागुन
नेपाली सेनाको केवल जंग गुल्मले सेना दिवसको अवसर पारेर कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा पर्वतमा ६२ बर्षीया बेसहारा महिलालाई कोभिड विरुद्धको पहिलो खोप प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङ्गणमा सञ्चालन भएको खोप अभियानका क्रममा दिनहुँ जसो पोखरा बागलुङ राजमार्गमा हिडडुल गर्ने पर्वतको मोदी गाउँपालिका ७ राम्जाकी चन्द्रकला पौडेललाई खोप प्रदान गरिएको हो । पौडेल आफैले खोप लगाउन अनुरोध गरेपछि स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम कोभिशिल्ड खोपको डोज प्रदान गरिएको गुल्मपति शमसेर बहादुर सिंहले जानकारी दिनुभयो ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ माइतघर भइ मोदी गाउँपालिका ७ राम्जामा ७ बर्षको उमेरमा बालविवाह गरेकी चन्द्रकला विवाहको केही बर्षमा नै विधुवा बनेपछि उनी अहिले सहारा विहिन बन्नु भएको छ ।
नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर मंगलबार पनि जिल्लाका विभिन्न स्थानमा खोप अभियान जारी राख्ने भएको छ । विभिन्न १ हजार ५ सय डोज खोप प्राप्त भएको र अभियानका क्रममा पहिलो, दोश्रो तथा बुष्टर डोज लगाउने गुल्मपति सिंहले जानकारी दिनुभयो ।









