पर्वत, १६ फागुन
कुनै काम समयमा सम्पन्न नभए, आयोजना असफल भए वा आर्थिक अपारदर्शिता देखिएमा हामी सवै भन्दा पहिला कर्मचारीलाई नै धारे हात लगाउन पछि पर्दैनौ । उनीहरुले कार्य सम्पादन गर्न गरेका दुःख कष्टहरु हाम्रो नजरमा पर्दा पछाडि नै रहन्छन् तर विशेष गरी प्राविधिक कर्मचारीहरुका दुःख साना छैनन् ।

सन्दर्भ हो पर्वत जलजलाको । स्वच्छ खानेपानीबाट सँधै बञ्चितिमा परेको पर्वतको जलजला गाउँपालिका वडा नं. ६ नाग्लिवाङमा अहिले खानेपानीको योजना निर्माण कार्य तिब्र रुपमा अघि बढिरहेको छ । खानेपानी आयोजना निर्माण कार्यमा प्राविधिक देखि स्थानीयबासी र मजदुरहरु ज्यान नै जोखिममा राखेर काम गरिरहेका छन् ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित ११ करोड लागतमा निर्माण हुँदै गरेको बास्बोटे खोला खानेपानी आयोजना निर्माणको क्रममा स्थलगत निरीक्षण तथा मुल्याङ्कनका लागि आइतबार जिल्ला खानेपानी कार्यालय पर्वतका इञ्जिनियर अनन्त बराल, स्थानीयबासी सोम जिसी लगायतको टोली भीरमा सुकेको खरको सहायताले मुहानसम्म पुगेका थिए । नाग्लिवाङका करिव ७ सय घर धुरीलाई स्वच्छ खानेपानी पुर्याउनका लागि करिव १५ सय मिटर ज्यान जोखिममा राखेर उनीहरु नुनथाप्लो स्थित मुहान सम्म पुगेका थिए ।

एकातिर प्रदेश सरकारको योजना समयमा नै सम्पन्न गर्नुपर्ने दबाब र अर्को तर्फ स्थानीयबासीहरुको अभावलाई मनन् गर्दै प्राविधिक कर्मचारीहरुले जोखिम मोलेर गरेको प्रयास सवैले सम्मान गरौँ ।
तस्विर सहयोग सोम जिसीबाट









