पर्वत, १३ जेठ
पर्वतमा हालै जारी अध्यादेश अनुसार निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको जेठ १३ गते बसेको बैठकले जेठ २२ गते राति सम्म लागु हुने गरी निषेधाज्ञाका लागि सिफारिस गर्ने निणर्य गरेको हो ।
समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो । यस अघि जेठ ७ गतेदेखि जेठ १५ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको भएपनि नयाँ अध्यादेश अनुसार संशोधन सहित थप कडाइ गरेको हो ।
यस अघि मालबहाक सवारी साधनलाई जिल्ला प्रबेश गर्न पाउने व्यवस्था भएपनि नयाँ नियममा कुनै पनि मालबहाक सवारी साधन जिल्ला भित्र प्रबेश गर्न नपाउने भएका छन् । पर्वत जिल्ला भित्र करिव ३ महिनालाई पुग्ने खाद्य सामग्री रहेको र तत्काल खाद्य संकटको अवस्था नआउने ठहर गर्दै ढुवानीजन्य सवारीसाधनमा रोक लगाएको हो । जेठ १६ गतेदेखि कुनै पनि मालबहाक ढुवानी साधन जिल्लामा प्रबेश निषेध गरिएको छ ।
पछिल्लो समय कुश्मा बजार भित्र केही सिमेन्ट, तरकारी लगायतका अधिकृत विक्रेताहरुमा समेत कोभिड १९ को संक्रमण पुष्टि भएपछि समितिले यस्तो निणर्य गरेको हो । त्यस्तै सरकारी सवारी साधनको समेत निषेधाज्ञाको समयमा दुरुपयोग भएको गुनासो आएपछि कुनै पनि सवारी साधन कर्मचारी पोशाक र परिचय पत्र विना सडकमा सञ्चालन गर्न नपाइने व्यवस्था जारी भएको छ ।
व्यवस्थालाई अटेर गरेमा प्रशासन र प्रहरीले १ सय देखि ५ लाख सम्म जरिवाना गर्ने व्यवस्था भएको बताउँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नियमलाई सही रुपमा पालना गर्न सवै नागरिक समक्ष आह्वान गरिएको छ ।
कतिपय व्यवसायीहरु निषेधाज्ञाको अवज्ञा गर्दै सुरक्षाकर्मीको आँखा छलेर व्यवसाय खोल्ने गरेको पाइएकाले नियमलाई आफ्नै स्वास्थ्य सुरक्षाका लागि भएको मनन् गर्दै पालना गर्न समितिले आग्रह समेत गरेको छ ।









