पर्वत, ३ जेठ
नयाँ भेरियन्ट सहितको कोभिड १९ दोश्रो लहर शुरु भए सँगै पर्वतमा एक महिनामा २० जनाको ज्यान गएको छ । ०७८ बैशाख १ देखि जेठ ३ गते सम्मको तथ्याङ्क अनुसार पर्वतमा १७ जनाको मृत्यु भएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित स्वास्थ्य शाखाहरुको जानकारी अनुसार २१ बर्ष देखि ९० बर्ष उमेर समुह सम्मका २० जनाले ज्यान गुमाएका हुन् । जसमध्ये २ जनाको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अन्य व्यक्तिहरु म्याग्दी, पोखरा लगायतका अस्पतालमा उपचारका क्रममा र केही व्यक्तिहरुको होम आइसोलेसनमा रहेकै बेला ज्यान गएको हो ।
पर्वतमा सवै भन्दा धेरै कुश्मा नगरपालिकामा ज्यान गुमाएका छन् । कुश्मा नगरपालिकामा वडा नं. १ पाङमा ५ जना, वडा नं. ३ दुर्लुङमा १ जना, वडा नं. ४ र ६ कुश्माबजारमा १/१ जना र कुश्मा नगरपालिका १२ ठुलिपोखरीमा १ र १३ खौलालाँकुरीमा १ जना गरी १० जनाको मृत्यु भएको स्वास्थ्य शाखा अधिकृत यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै जलजला गाउँपालिकाको वडानं. ३, ४ र ८ मा एक/एक जना र वडा नं. ७ मा २ जना गरी ५ जनाको मृत्यु भएको छ । फलेवास नगरपालिका २ थापाठानामा समेत एक २४ बर्षिय महिलाको मृत्यु भएको छ भने वडा नं. ६ देविस्थानमा १ पुरुषको मृत्यु भएको छ । जिल्लाको दक्षिणक्षेत्रमा अवस्थित पैञ्यु गाउँपालिकामा समेत ३ जनाको मृत्यु भएको स्वास्थ्य शाखा संयोजक पुण्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पर्वतमा आज शनिबार सम्म ३ सय ५२ जना संक्रमित भइसकेका छन् ।
संक्रमितको उपचारका लागि पर्वतका प्रत्येक स्थानीय तहमा ५ बेड क्षमताको आइसोलेसन तयार भएका छन् भने जिल्ला अस्पतालमा समेत स्थानीय कुश्मा नगरपालिकाको सहयोग र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा ३० बेडको आइसोलेसन सञ्चालनमा रहेको छ ।









